युएईबाट नेपालीको उद्धारका लागि चार्टड उडान रद्ध, आशमा बसेका नेपालीहरु थप अन्यौलमा

खवर पाटी (खोज खबरको अभियान)

युएई । युएईमा समस्यामा परेका नेपालीको उद्धारका लागि आज हुने भनिएको चार्टड उडान रद्ध भएको छ । आबुधाबीस्थित नेपाली दूतावासले आज एक सुचना जारी गर्दै असार २ र ४ गते हुने भनिएको उडान स्थगित भएको जानकारी दिएको हो ।

नेपाल एयरलाइन्स मार्फत युएईमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी भएको थियो । दूतावासले जारी गरेको सूचनामा प्राविधिक कारण देखाउँदै उडान स्थगन भएको उल्लेख गरिएको छ ।

उडान रद्धबारेको सूचना आइतबारै आफ्नो आधिकारीक फेसबुक पेजमार्फत सार्वजनिक गरेको दुतावासले हटाएर आज फेरि अर्को सूचना जारी गर्दै उडान स्थगन भएको जनाएको हो ।

अर्को उडान बारे केही भनिएको छैन । तोकिएको मितिमा उडान नहुने भएपछि घर फर्कने आशमा बसेका नेपालीहरु थप अन्यौलमा परेका छन् । उनीहरु स्वदेश फर्काइदिन माग गर्दै दूतावासको ढोकामा गुहार माग्न थालेका छन् ।

सोमबार दूतावासमा आफ्ना समस्या राख्न पुगेका केही नेपालीले आफूहरुलाई खान–बस्न समस्या हुन थालेकाले छिटो स्वदेश फर्काइदिन आग्रह गरेका थिए । आफूहरु श्रम गर्न आएकाले उद्धारका लागि सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको भनाइ छ ।

घर फर्कने पालो आएपछि फोन गर्ने भन्दै दूतावासका कर्मचारीले उनीहरुलाई सम्झाएका थिए । आफूहरु पालो कुर्न तयार रहेको तर खान–बस्न समस्या रहेकाले त्यसको व्यवस्था गरिदिन पनि उनीहरुले आग्रह गरेका थिए ।

Facebook Comments Box