काभ्रे । जिल्लाको रोशी गाउँपालिका वडा नं. ५ मा अज्ञात समूहद्वारा लाखौँको बुद्धचित्त माला लुटपाट भएको छ । हातहतियारसहित आएका अज्ञात समूहले वीरबहादुर तामाङकाे लाखौँको माला लुटेको प्रहरीले जनाएको छ ।
गएराती अन्दाजी साढे १० बजेट ५०-६० जनाको समूहमा आएका अज्ञात समूहले बुद्धचित्तको बोट कुर्न बसेकालाई कुटपिट गरेर बोटमा भएको ८५ प्रतिशत बुद्धचित्तका दाना चोरेको इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रहरी निरीक्षक धर्मजङ्ग थिङले जानकारी दिनुभयो । हातहतियारसहित आएका उनीहरूले हवाईफायरसमेत गरेको स्थानीयले बताए ।
घटनास्थललाई प्रहरीले नियन्त्रणमा राखेको छ । लुटपाटको क्रममा बुद्धचित्त माला संरक्षणका लागि बसेका गाउँलेहरूसँग मध्यराति दोहोरो झडपसमेत भएको स्थानीयको भनाइ थियो । झडपका क्रममा चार जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मङ्लगटारका प्रहरी निरीक्षक थिङले तेमाल गाउँपालिका वडा नं. ४ का श्याम तामाङ, रोशी गाउँपालिका वडा नं. ६ सिपालीका जीतबहादुर तामाङ, शेखर लामा र जीतबहादुर लामा घाइते भएको जानकारी दिनुभयो । घाइतेहरूको अहिले धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले घटनाको बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । ‘आपराधिक ढङ्गले जुन खालको काम भएको छ, यसको खोजी सुरु गरेका छौँ ।’ प्रजिअ तिमिल्सिनाले भन्नुभयाे । सडकमा रुख काटेर, ढुङ्गा राखेर सडक अवरुद्ध गरेका थिए भने ठाउँठाउँमा बम रहेकाले खतरा छ भन्ने लेखिएको थियो । प्रजिअ तिमिल्सिनाले आर्मीको बम डिस्पोजल टोली पुगी हेर्दा उक्त स्थानमा बम नभएर तर्साउनका लागि मात्र राखिएको पाइएको बताउनुभयो । अहिले डीएसपीको नेतृत्वमा प्रहरी टोली थप गरिएको छ ।
बुद्धचित्त मालामध्येकै बहुमूल्य मालाको रुपमा परिचित यो मालाको विषयमा लामो समयदेखि विवाद थियो । स्थानीयले पनि आफूहरूले नै उक्त माला बेच्न पाउनुपर्ने माग गरेका थिए । अघिल्लो वर्ष पनि उक्त रुखमा विवाद भएको थियो । मालाधनीले व्यापारी मानबहादुर तामाङ, प्रभात लामा, समीप त्रिपाठीलगायतका टिमलाई ९० लाखमा बिक्री गरेका थिए । उनीहरूले माला कुर्नका लागि १५ जना युवा नै परिचालन गरेका थिए । घरधनीले नयाँ व्यापारीलाई माला बिक्री गरेसँगै विवाद उत्कर्षमा पुगेकाे थियो । यही बोटमा फलेको मालाको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो ।
बुद्धचित्त मालाको कारण विभिन्न विवादहरू भइरहेपछि यो पटकदेखि रोसी गाउँपालिकाबाट मालाको लागि छुट्टै कार्यविधिसमेत बनाएर ५ प्रतिशत कर निर्धारण गरिएको थियो । गाउँपालिकाले बनाएको मापदण्ड अनुसार नै यो पटक ९० लाखमा सम्झौता भएको उक्त मालाको चार लाख ५० हजार पालिकालाई कर तिरिसकिएकाे छ ।