सार्वजनिक सवारी सञ्चालन नहुँदा बैङ्कको ब्याज तिर्न नसक्ने अवस्थामा यातायात ब्यवसायी

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार १३ । सार्वजनिक यातायात व्यवसायीले बैङ्क तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताउनु भएको छ । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न नपाउँदा बैङ्कको किस्ता र ब्याज तिर्न नसकेको र यातायात मजदुरहरू भोकै पर्ने अवस्था भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव सरोज सिटौला भन्नुहुन्छ, व्यवसायी मोबाइल अफ गरेर बस्नुपरेको छ, गाडी कुहिन थालिसके, सरकारले कुनै राहतको व्यवस्था गरेको छैन, बैङ्कको किस्ता तिर्न सक्ने अवस्था छैन, बैङ्कको किस्ता पछि सारिदेउ भन्दा पनि भएको छैन, तिर्दैन त भनेका छैनौँ नि पछि तिर्छौं भन्दा पनि भएको छैन । उहाँका अनुसार बन्दाबन्दीले सबैभन्दा प्रभावित भएको सार्वजनिक यातायात क्षेत्र हो । तीन लाख ५० हजार यात्रुवाहक सवारी थन्किएका छन् । कहिलेदेखि गाडी सञ्चालन हुन्छ भन्ने कुरो सरकारले टुङ्गो नलगाउँदा व्यवसायीमा झन् निराश बढेको छ ।
बन्दाबन्दी विस्तारै खुकुलो बनाउँदै जाने सरकारको नीति अनुसार सार्वजनिक सवारी साधन पनि विस्तारै सुचारु गर्नुपर्छ भनेर यातायात व्यवस्था विभागले नयाँ निर्देशिका जेठ २५ गते तयार गरेको थियो । नयाँ निर्देशिकामा कोरोनाबाट सुरक्षित रहेर सवारी सञ्चालन गर्नुपर्ने प्रावधान छन् । सुरक्षित रहन प्राविधिक मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने, सबै सिटमा यात्रु राख्न नपाइने, मास्क, पञ्जा तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरिने छ । साथै यात्रुको ज्वरो नाप्नेसम्मका प्रावधान छन् ।
तर व्यवसायीले आधा यात्रु मात्र लिएर हिँड्दा दैनिक खर्च पनि नउठ्ने भएकाले सरकारले केही सहुलियत दिनुपर्ने माग गरेका छन् । सोही माग अनुसार विभाग र व्यवसायीबीच पटकपटक छलफल भए पनि सहमति हुनसकेको छैन । महासचिव सिटौला भन्नुहुन्छ, अहिले हामीलाई कमाउनु छैन, नियमित खर्च उठ्नु प¥यो, बैङ्क किस्ता, ब्याज, कर्मचारी र इन्धन खर्च आउने गरी सुचारुको व्यवस्था गर्नुप¥यो त्योभन्दा पहिलो चुनौती कोरोनाबाट कसरी बच्ने भन्ने नै हो, स्वास्थ्यको ग्यारेन्टी हुनुप¥यो त्यो अहिलेसम्म हुनसकेको छैन । गाडीमा आधा यात्रु बोकेर खर्च नउठ्ने उहाँको भनाइ छ । विभागले नयाँ निर्देशिकाको छिट्टै टुङ्गो लगाउने भएको छ । यातायात व्यवसयाी तथा मजदुरसँग नयाँ निर्देशिकाको बारेमा छलफल भइरहेको र यातायात सञ्चालनको तयारीका काम पनि भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो तर सार्वजनिक यातायात कहिलेदेखि सुचारु गर्ने भन्ने कुराको टुङ्गो सरकारले नगर्दा विभाग पनि अन्योलमा छ । हमाल भन्नुहुन्छ, छलफल भइरहेको छ अब सार्वजनिक गाडी कहिलेदेखि सञ्चालन हुन्छ ? त्यो निर्णय भएपछि काम अघि बढ्छ ।  गोरखापत्र

Facebook Comments Box