दुवै पदबाट राजीनामा दिन प्रचण्डद्धारा ओलीलाई सुझाव

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट केपी शर्मा ओलीको राजीनामा मागेका छन् । स्थायी कमिटी बैठकमा आइतबार ओलीले दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै प्रचण्डले दुवै पदबाट राजीनामा दिन ओलीलाई सुझाव दिए ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार ओलीको अभिव्यक्तिले पार्टीको प्रतिष्ठा गिरेको र बिना आधार सतही कुरामा प्रधानमन्त्री दौडिएको पुष्टि भएकाले अब राजीनामा दिनुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । ती सदस्यका अनुसार प्रचण्डले भने, ‘मदन जयन्तीमा जुन अभिव्यक्ति दिनुभयो त्यसले पार्टीको प्रतिष्ठा गिराउनु भयो । भारतसँग मात्र होइन अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन तपाईँले सक्नु हुन्न । जुन जिम्मेवारीमा बस्नु भएको छ, त्यो अनुसारको अभिव्यक्ति आपत्तिजनक छ ।’

लगत्तै जवाफमा प्रधानमन्त्री ओलीले बैठकमा भएका कुरा दिल्लीका मिडियामा आएका कुरा हुबहु भन्दै आफ्नो बचाऊ गरे । उनले भने, ‘हाम्रो बैठकमा भएका कुरा दिल्लीका मिडियामा हुबहु कसरी आयो । ? यो विषयमा गम्भीर छलफल हुनुपर्छ ।’

प्रचण्डले तत्काल नै त्यसको पनि जवाफ दिए । उनले भने, ‘भारतले होइन, अब मैले भनेको छु तपाईँले प्रधानमन्त्री र अध्यक्ष दुवैपदबाट राजीनामा दिनुस् । तपाईँले नैतिकता गुमाउनु भयो । तपाईँले अध्यक्ष पनि छाड्नुस्, प्रधानमन्त्री पनि छाड्नुस्, भारतले भनेको होइन यो मैले भनेको हो ।’

Facebook Comments Box