“मिडियामा आएकोजस्तो कुनै कुरा भएको छैन, नयाँ सरकार बनाउनुपर्ने परिस्थिति नै आउँदैन ।” – उपनेता नेम्वाङ

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ, असार २१। पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच आइतबार बिहान छलफल भएको छ । छलफलमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पूर्वसभामुख नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर काँग्रेस सभापति देउवालाई भेटन उहाँको निवास बुढानिलकण्ठ पुग्नुभएको थियो । छलफलमा वर्तमान राजनीतिक समस्या र समाधान, कोरोना समस्या र समाधान, नेपाली भूमि फिर्ता, मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विषयमा केन्द्रित भएर छलफल भएको उपनेता नेम्वाङले जानकारी दिनुभयो ।

बिहान १० बजे भएको छलफलमा काँग्रेस नेता डा. मिनेन्द्र रिजालको पनि सहभागिता थियो । प्रमुख प्रतिपक्षी दलसँग नियमित छलफल गर्नुपर्ने प्रक्रियाअनुसार नै प्रधानमन्त्रीको सन्देश लिएर आफू सभापति देउवासँग छलफल गरेको उपनेता नेम्वाङले गोरखापत्रलाई बताउनुभयो ।
“संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्षी दलबीच नियमित समन्वय र सम्पर्क गर्ने प्रावधानअनुसार नै भेटघाट भएको हो, देशको विद्यमान समस्या सत्तापक्ष र प्रतिपक्षी दल मिलेरै सल्टाउनुपर्ने हुन्छ भन्ने उद्देश्यले भेटघाट भयो” नेम्वाङले प्रष्ट पार्नुभयो । प्रतिपक्षी दल राज्यको अभिन्न अङ्ग हुने संसदीय व्यवस्थाअनुसार नै सरकार नियमित समन्वयमा रहेको उहाँले बताउनुभयो ।

भेटका क्रममा सभापति देउवाले नेकपाभित्र देखिएको आन्तरिक मतभेदलाई वार्ता र संवादको माध्यमबाट सल्टाउन सुझाव दिनुभएको थियो । “पार्टीभित्रको आन्तरिक समस्यालाई संवादकै माध्यमबाट सल्टाउन सफल हुनुहोस्, मेरो शुभकामना छ” सभापति देउवाले प्रधानमन्त्री ओलीलाई सन्देश सुनाइदिन आग्रह गर्नुभएको उपनेता नेम्वाङ्ले जानकारी दिनुभयो ।

त्यस्तै, एमसीसी नेपालको हितमा रहेकाले त्यसलाई अनुमोदन गर्न आवश्यक रहेको सभापति देउवाले सो अवसरमा बताउनुभएको थियो । काँग्रेसले एमसीसी अनुमोदनको निर्णय गरिसकेकाले नेकपामा सहमति गरेर पारित गर्ने वातावरण बनाउन देउवाले आग्रह गर्नभएको नेम्वाङ्ले बताउनुभयो । “मित्रराष्ट्र देशले प्रदान गर्ने सहयोग लिनुमै देशको भलाई हुन्छ” देउवाले भेटका क्रममा सुझाव दिनुभएको थियो ।

पार्टी फुट्दैन
यसैबीच, नेकपाभित्र चुलिएको विवादका कारण पार्टी फुट्ने चौतर्फी आशङ्का भइरहेका बेला नेकपा अहिले नफुट्ने बरु झन् बलियो भएर अगाडि बढ्ने नेता नेम्वाङ्ले विश्वास व्यक्त गर्नुभयो । नेकपाभित्र यस्तो समस्या पटकपटक आउने गरेको भएपनि अहिले नै पार्टी फुट्ने कुनै सम्भावना नरहेको बताउनुभयो । दुई अध्यक्षबीच गम्भीररुपले संवाद र वार्ता भइरहेकाले सहमति बन्ने उहाँले विश्वास दिलाउनुभयो ।

आइतबार भएको देउवासँगको भेटमा काँग्रेससँग मिलेर सरकार बनाउने खालको समाचार मिडियामा आएको भए पनि त्यसबारेमा कुनै छलफल नभएको उहाँले प्रष्ट पार्नुभयो । “नेकपाभित्रको विवाद सल्टाउन सुझाव दिनुभएका देउवासँग नयाँ सरकार बनाउन सहयोग माग्ने प्रश्नै उठ्दैन” उपनेता नेम्वाङले भन्नुभयो, “मिडियामा आएकोजस्तो कुनै कुरा भएको छैन, नयाँ सरकार बनाउनुपर्ने परिस्थिति नै आउँदैन ।”

Facebook Comments Box