रुसद्धारा आउँदो हप्ता संसारकै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने योजना सार्वजनिक

खवर पाटी (खोज खबरको अभियान)

एजेन्सी । कोरोना भाइरसविरुद्ध लडिरहेका संसारका धेरै देशलाई पछिपार्दै रुसले आफूलाई सबैभन्दा पहिले कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने देशको सूचीमा सबैभन्दा अगाडि राख्ने भएको छ । कोरोनाविरुद्धको भ्याक्सिनको लामो समयको प्रतिक्षा अब समाप्त भएको छ ।

रुसले आउँदो हप्ता संसारकै पहिलो एन्टि कोभिड भ्याक्सिनको रजिष्ट्रर गर्ने योजना सार्वजनिक गरेको छ । रुसका उप-स्वास्थ्यमन्त्री ओलेग ग्रिडनेभले रुसले १२ अगष्टमा कोरोना भाइरसविरुद्धको आफ्नो पहिलो भ्याक्सिन रजिष्ट्रर गर्ने जानकारी दिए ।

उन्फा सहरमा एक क्यान्सर केन्द्रको भवन उद्घाटन गर्न पुगेका ओलेगले अहिले कोरोनाविरुद्धको भ्याक्सिन तेस्रो तथा अन्तिम चरणको क्लिनिकल परीक्षणमा रहेको जानकारी दिए । अहिलेसम्मको नतिजाले आउँदो हप्ता नै यो भ्याक्सिन चिकित्सक, स्वास्थ्यकर्मी र जेष्ठ नागरिकलाई प्रयोग गर्नेगरी काम भइरहेको उनले दावी गरेका छन् ।

उपस्वास्थ्य मन्त्री ओलेग ग्रिडनेभका अनुसार गामालेया रिसर्च इन्स्टिच्युट र रुसी रक्षा मन्त्रालयले संयुक्तरुपमा यो भ्याक्सिन तयार गरेका हुन् । १८ जुनदेखि यो भ्याक्सिनको मानव प्रयोग सुरु भएको थियो । तर, विश्व स्वास्थ्य संगठनले भने यो विषयमा कुनै पनि आधिकारीक जानकारी प्राप्त नभएको जनाएको छ ।

यसअघि रुसी स्वास्थ्य मन्त्री मिखाइल मुरासले रुसले छिट्टै कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याउने बताएका थिए । उनले त्यसको सुरुवात अक्टुबरदेखि नै हुने जनाएका थिए । सबै खर्च राज्यकोतर्फबाट गरिएको यो भ्याक्सिन अर्को हप्ता नै रजिष्ट्रर गर्ने उप-स्वास्थ्यमन्त्रीले बताएका छन् ।

Facebook Comments Box