प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् विघटनविरुद्ध सडकमा

खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद् विघटनविरुद्ध सडकमा निस्किएको छ । संसद् विघटनलगत्तै पदाधिकारी बैठक बसेर निर्णयको विरोध गरेको कांग्रेस विरोध प्रदर्शनमा सडकमा निस्किएको हो । कांग्रेसले मंगलबार देशभरका १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रबाट संसद् विघटन गर्ने सरकारी निर्णयको बिरोध गरेको हो ।

भक्तपुरमा आयोजित बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको सरकारी निर्णय असंवैधानिक र अलोकतान्त्रिक भएको र कांग्रेसले सरकारको सो कदमको शशक्त रुपमा प्रतिवाद गर्ने बताए ।
भक्तपुर २ मा आयोजित विरोध प्रदर्शनपछिको विरोध सभालाई सम्बोध गर्दै देउवाले संसद् विघटनको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा मुद्दा समेत रहेको अवस्थामा कांग्रेस अदालतको आदेशको समेत पालना गरी अघि बढ्ने तर अदालतलाई तर्साउने र धम्काउने काम भने नगर्ने बताए ।

‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक छ, सरकारले यो काम ठिक गरेन, तर कांग्रेस अदालतको आदेश पनि मान्ने पार्टी हो, अदालतलाई तर्साउने धम्क्याउने काम हुनुहुदैन, अदालतको निर्णय कस्तो आउँछ हेरौं, त्यसपछि थप निर्णय हुन्छ,’ सम्बोधनका क्रममा देउवाले भने ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनको मुद्दा अदालतमा रहेकाले सर्वोच्च अदालतका न्यायधिशहरुलाई संविधानलाई राम्रोसँग हेरेर निर्णय गर्न आग्रह गरे । गृह जिल्ला तनहुँको आफ्नै निर्वाचन क्षेत्रमा भएको बिरोध सभालाई सम्बोधन गर्दै उनले संसद् विघटनले वैधता पाउँदा संविधान र लोकतन्त्र नै मासिने खतरा रहेकाले विरोधमा उत्रिएको उनले बताए ।

कांग्रेस युवा नेता गगन थापाले संसद् विघटनको विषयमा सर्वोच्च अदालतले न्याय दिने आशा जनताले लिएको बताए । प्रतिनिधि सभा विघटनको बिरुद्ध नेपालगंजमा आयोजित प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतले न्याय दिने आशा व्यक्त गरे ।

काठमाडौं १ मा भने पूर्वमहामन्त्री प्रकाशमान सिंह प्रदर्शनसँगै सडकमा निस्किएका थिए भने उनले बानेश्वरमा सभालाई सम्बोधन गरेका थिए । यस्तै काठमाडौं २ मा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदर्शनको नेतृत्व रेका थिए । काठमाडौं २ को प्रदर्शन कोटेश्वरमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

काठमाडौं ३ को प्रदर्शनको नेतृत्व सो क्षेत्रकी सांसद नेतृ अम्बिका बस्नेतले गरेकी थिइन । काठमाडौं ४ मा दिव्यमणीराज भण्डारी र क्षेत्रीय सभापति राजु श्रेष्ठ, काठमाडौं ५ मा सहमहामन्त्री डा प्रकाशसरण महत, काठमाडौं ६ को नेतृत्व सांसद भीमसेनदास प्रधानले गरेका थिए ।

यसैगरी काठमाडौं ७ को प्रदर्शनको नेतृत्व क्षेत्रीय सभापति मुकुन्द रिजालले गरेका थिए भने काठमाडौं ८ को नेतृत्व नविन्द्रराज जोशीले गरेका थिए । यस्तै काठमाडौं ९ को नेतृत्व ध्यान गोबिन्द रन्जित र काठमाडौं १० को प्रदर्शनको नेतृत्व राजेन्द्र केसीले गरेका थिए ।

Facebook Comments Box