सरकारले राम्रो काम गरिरहेको छ: दिपक दोर्जे लामा

खवर पाटी (खोज खबरको अभियान)
दिपक दोर्जे लामा केन्द्रीय सदस्य, जनता समाजवादी पार्टी (जसपा)

मुलुकको राजनीतिक अवस्थालाई यहाँले कसरी लिनुभएको छ ?

मुलुकको राजनीतिक अवस्था गम्भीर मोडमा उभिएको छ । मुलुकलाई चौतर्फीबाट घेराबन्दी गरेको अवस्था छ । एकातिर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाललाई अमेरिकी साम्राज्यवादको चन्गुलमा फसाउने नियतले आएको देखिन्छ अर्काेतिर हिन्दु अतिवादी राजतन्त्रको माध्यमबाट भारतीय विस्तारवादले नेपाललाई चन्गुलमा फसाउन खोज्दै छ भने यो चाइनाको विआरआइ प्रोजेक्टले पनि नेपाललाई आफ्नो मातहतमा राख्न खोजिरहेको देखिन्छ । यसमा हामी राष्ट्रवादी शक्तिहरु पनि एकजुट हुन नसकेको अवस्थाले देश निकै गम्भीर अवस्थामा गुज्रिरहेको मैले महसुस गरिरहेको छु । हामी यो नेपालमा १२४ भन्दा बढी जातजातीको प्रतिनिधित्व हुने पहिचान सहितको संघीयता, राष्ट्रिय उत्पादन र स्वदेशमै आत्मनिर्भर हुने योजनाहरु कायम गर्न चाहन्छौं । नेपाल एउटा वहुजातीय, वहुसंस्कृति भएको मुलुक हो । यसलाई हामीले बहुल राष्ट्रिय राज्य हो भनेर मानेका हौं । बहुल राष्ट्रिय राज्य हुँदा कसैलाई यसले असर गर्दैन ।

वर्तमान सरकारको क्रियाकलापलाई कसरी मुल्यांकन गर्नु हुन्छ ?

यस मेसोमा भन्नु पर्दा वर्तमान सरकार एउटा पश्चगामी सरकारलाई पररास्त गरी वाध्यवस अग्रगामीहरुको गठबन्धन बाट बनेको सरकार हो । त्यसैले पनि यसले सबै गठबन्धन आवद्ध पार्टीहरु र तीनका उद्देश्य अनुरुप काम गर्न यो सरकार सकिरहेको छैन । यो सरकारलाई पनि अनेकौ अप्ठ्याराहरुले अल्झाइ रहेको देखिन्छ । यो बाध्यवस बनेको सरकार भएको हुनाले गठबन्धनमा आवद्ध अरु दलहरुले पनि आफुले चाहेको जस्तो जनताको आवश्यकताको सम्पूर्ण काम यो सरकारले ग¥यो, गरेन, यो गर्नु भएन, यसो गर्नुस् भनेर निर्देशन गर्न सकिरहेको अवस्था छैन । त्यसैले पनि यो सरकारमा आवद्ध गठबन्धन शक्तिहरु अन्यौयतामा बाध्यवस आवद्ध भएर बसिरहन बाध्य भएको देखिन्छ । त्यसैले पनि यो सरकारले गरेको क्रियाकलाप प्रति पूर्ण रुपमा सन्तुष्टी स्वयं नेपाली काँग्रेस समेत देखिँदैन । साथै अरु दलहरु पनि सन्तुष्ट देखिदैनन् । त्यसैले यो सरकारले गरेका वर्तमान क्रियाकलापहरु मध्ये केही ज्यादै सर्हानीय र राम्रो देखिन्छ भने केही ज्यादै व्रmुरपुर्ण पनि देखिन्छ । जस्तो भौतिक पूर्वाधार मन्त्री रेणु यादवले सडकको विषयमा गरेको अनुगमनहरु, पर्यटन मन्त्री प्रेम आलेले गरेका कामहरु राम्रा र सर्हानिय छ । साथै भूमि सुधार मन्त्री शशि श्रेष्ठ, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठले गरेका कामहरु झन् राम्रा र सर्हानीय छन् । साथै अन्य मन्त्रीहरुले पनि राम्रा काम गरेको हामी देखेकै विषय हो ।

देशव्यापी रुपमा फैलिरहेको महँगीको बारेमा यहाँ के भन्नु हुन्छ ?
पहिलो कुरा नेपालमा विचौलियाहरुको ठुलो चलखेल देखिन्छ । यसबाट आम उपभोक्ता महँगीमा पर्नु स्वभाविक हो । दोस्रो कुरा नेपालीहरुबाट आवश्यकता अनुसार उत्पादन हुन नसक्नु, यसले पनि महँगी भइरहेको देखिन्छ । तेस्रो कुरा राज्य मार्फत हरेक कुराको उत्पादनमा सुरक्षा र व्यवसायिक व्यवस्थापन गर्न नसक्नु, यसले पनि महँगी हुन पुगेको देखिन्छ । सरकारकै जिम्मेवार निकायमा बस्नेले उचित ध्यान दिन नसक्दा महँगी बढ्न पुगेको स्पष्टै छ । पेट्रोलियम पदार्थमा हालै भएकोे मुल्यवृद्धिले पनि अन्य उपभोग्य वस्तुहरुको मुल्य वृद्धि हुनु स्वभाविकै हो । अहिले अग्रगामी भनिएको यहि सरकारद्वारा भएको पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिले आम उपभोक्ता वाध्यवस हरेक उपभोगीय वस्तुको मुल्य बढि तिर्न बाध्य भइरहेको छन् । यो पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि हिजोको सरकारले भन्दा विना कारण बढाउँदा जनता अकमक्क भएका छौं । खाउ भने कान्छा बाउको अनुहार, नखाउ भने दिन भरिको शिकार अवस्था अहिले आम नेपालीले भोग्नु परिरहेको छ ।

देशभर फैलिरहेको कोरोना संक्रमणलाई यहाँले कसरी लिनु भएको छ ?

यता कोरोना नेपलाभर फैलिरहेको छ । यो नेपालमा मात्र होइन विश्वभर फैलिरहेको छ । यसमा कुनै पनि सरकारको कमिकमजोरी, नियतीले निम्त्याएको समस्या होइन, यो त आम विश्वले नै भोग्नु परिरहेको समस्या हो भन्ने कुरा सर्व विविदै छ । तर यसमा पनि हाम्रो सरकारले आम नेपालीलाई कसरी जोगाउने, सुरक्षा दिने भन्ने विषयमा सोच्नु जरुरी छ । जस्तै नेपालकै सन्दर्भमा भन्ने हो भने प्रत्येक वडामा स्वास्थ्य चौकीहरु छन्, ती स्वास्थ्य चौकीरुलाई परिचालन गरी आवश्यकता अनुसार सामाग्रीहरुको र जनशक्तिहरुको जसरी चुनावको बेलाको लागि म्यादी प्रहरी भर्ना गरिन्छ, त्यसरी नै ती स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु खटाएर र टोलटोलमा स्वास्थ्य क्याम्प राख्दै काम गर्ने हो भने धेरै हदसम्म कोरोनालाई नियन्त्रण गर्न सहयोग मिल्ने देखिन्छ । स्वास्थ्य माफियाहरु पनि सल्वलाउन पाउने थिएनन् । र आम नेपालीले पनि सहजताको अनभुती प्राप्त गर्ने थिए ।

एमसिसी बारे तपाईको धारणा बताई दिनुसन ?

त्यसो त अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) नेपाली र नेपालको लागि विल्कुलै ठिक छैन । तर त्यसो भन्दैमा एमसिसी पुरै खराब छ भन्न खोजिएको होइन । यहि एमसिसी भित्रको सम्झौताहरु नेपाल र नेपालीको लागि हित विपरितका बुधाहरु सच्चाएर निस्वार्थ रपले नेपालमा प्रयोग गर्ने हो भने एमसिसीलाई आम नेपालीले स्वीकार्ने थिए । तर एमसिसीमा रहेका जुन घातक बुँदाहरु छन्, तीनलाई हुबहु संसदबाटै पारित गरेर लागु गर्ने हो भने यो विल्कुलै मान्ने पक्षमा हामी छैनौं । बरु यसको निमित्त हामीले हिजो जुन रुपले देश र जनताको निमित्त बलिदान दिँदै आज यो ठाउँसम्म आइ पुगेका छों, अझैं हामी वलिदान दिन तयार छों तर देश विपरित आएको एमसिसी हुबहु पारित हुन दिँदैनौ ।

एमाले फुटलाई यहाँले कसरी लिनु भएको छ ?

मेसै मेसोमा भन्दा एमालेका खास गरी केपी ओलीज्यू एकाइसौं शताब्दीको हिटलर भएर लोकतान्त्रिक तानाशी रुप देखाउन थाल्नु भयो । वर्तमान एमाले पक्षधरहरु त्यसमा सहभागी भए, खास गरी संसद विघटन गरी संसदकै धाज्जी उडाउँदै मै हुँ भनेर हिड्न थाल्नु भयो । र उहाँहरुको एकात्मक केन्द्रिकृत, व्राहमणवादी सोचलाई, एकल जातीय चिन्तन नस्लवादी सोचलाई हुबहु लागु गर्दै जानु थाल्नु भएको देखिन्छ । र खास गरी उहाँहरु धर्म निरपेक्ष राष्ट्रमा हिन्दु राज्य कायम गर्न समेत अग्रसर हुनु भएको हामीले महसुस गरेकै विषय हो । त्यसैले पनि नेपाल धर्मनिरपेक्ष भइसकेको अवस्थामा अब एकल हिन्दु राज्य हुन सक्दैन भनेर हामीले वकालत गर्दै अग्रगामी सोचले गठबन्धन भई यो सरकार निर्माण गरेका हौं । त्यसैले एमालेलाई हामीले पश्चगामी पार्टी भनेका हौं । त्यसैले नेकपा फुट भई पश्चगामी नेकपा एमाले एकातिर भयो, अर्काेतिर एकिकृत समाजवादी र माओवादी केन्द्र अलग भइ काँग्रेससँग गठबन्धन बन्न पुग्यो ।

जसपामा पनि फेरि फुटको अवस्था देखिन्छ, खास कुरा के हो ?

यसै गरी भन्नु पर्दा खासमा राजनीतिमा फुट्नु, जुट्न यो ठुलो कुरा होइन, ठुलो कुरा त कसले कुन विचारलाई अंगाल्यो, कुन विचारलाई प्रयोगमा ल्याउन खोज्यो, यो ठुलो कुरा हो । अब जनता समाजवादी पार्टी (जसपा) पनि फुट्ने भन्ने कुरा बाहिर आएको देखिन्छ । तर खास कुरा जसपा फुट्ला भन्ने हामीले अनुभव गरेका छैनौं तर हिजोको दिनमा हाम्रो पार्टीमा दुई वटा अध्यक्षात्मक प्रणाली रहेको थियो, त्यसमा महन्थ ठाकुरले अर्काे पार्टी निर्माण गरेर जानु भएपछि रिक्त रहेको एक पदमा अर्काे थप्ने भन्ने विषय हो । यसैमा अहिले छलफल चलिरहेको छ । पार्टी यहि कुराले फुट्ला जस्तो त मलाई लाग्दैन । पार्टी भित्र विचारको वहस चल्नु, चर्काचर्की हुनु यो स्वभाविक हो । यसलाई बाहिर सतहमा आएपछि पार्टी फुट्ने भनिएका हुन्, यो पूर्ण रुपमा सत्य होइन । जसपा फुट्ने कुनै संभावना छैन ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई कसरी लिनु भएको छ ?

अब कानुन सम्मत रुपमा स्थानीय निर्वाचन हुनुपर्छ भनेर हामीले भन्दै आएका छौं । हिजो हामी संविधानकै रक्षामा लड्दै आएका हौं । नेपालीको हक अधिकार र संविधान कार्यान्वयनमा लड्दै आएका हौ । अब हुने स्थानीय निर्वाचनलाई हामी सहर्ष स्वीकार छौ र पार्टी संगठन भएका ठाउँमा व्यापक रुपमा उम्मेदवार उठाउँछौं । यो चुनावलाई स्वीकारेर अघि बढ्ने हाम्रो कर्तव्य हो । अन्य दलले पनि यो चुनावलाई स्वीकारेको हामी पाएका छौं । यसमा हामी खुसी छौं । जनताको हक अधिकारको लागि यो संविधान निर्माण गरेकाले यो संविधान अनुसार हुन लागेको निर्वाचनलाई अन्यथा लिनुपर्ने कारण छैन ।

Facebook Comments Box