निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि कडाइका साथ प्रस्तुत भई निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको ४८औँ दिनसम्ममा डेढ सय उजुरी परेका छन् ।
आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्लास्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ । दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैँ सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लङ्घनका घटना देखिएका छन् । गत असोज १२ गतेदेखि उक्त आचारसंहिता कार्यान्वयनमा आएको थियो भने कात्तिक १७ देखि मङ्सिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस र सञ्चारमाध्यमका माध्यमबाट प्रचारप्रसारका लागि निर्धारण गरेको थियो । मङ्सिर १ गते राति १२ बजेदेखि मतदानको दिनसम्म निर्वाचन प्रचारप्रसार निषेध (स्थिर अवधि) मानिनेछ ।
निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्ने÷गराउने निर्णय गर्दै आएको र त्यसका अनुगमन नियमितरूपमा भइरहेको बताए । उनका अनुसार हालसम्म विभिन्न माध्यमबाट एक सय ४९ वटा उजुरी परेका आवश्यक चाँजबुझ गरी एक सय १६ वटा स्पष्टीकरण सोधिएकामा नौवटा घटनामा कारबाही, सचेत र निर्देशनसमेत गरी निर्णय भइसकेको छ । केन्द्रीय निर्वाचन अनुगमन समितिका संयोजक भण्डारीले स्पष्टीकरण सोधिएकामध्ये ३५ वटा घटनामा निर्णयका लागि आवश्यक कागजात र फाइलहरू तयार भइसकेकाले चाँडै किनारा लगाइनेछ । यसबीचमा उक्त केन्द्रीय समितिको दुईवटा बैठक सम्पन्न भएका छन् ।
राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निर्वाचन खर्चको हदबमोजिम कार्यान्वयनका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आयोगले यसअघि निर्देशन दिइसकेको छ भने आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको छ ।