नेपाल सरकारले गोप्य राखेको एउटा अध्ययन प्रतिवेदनले चीनले नेपाली भूभागमा स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरेको छ।
दुई देशको सीमामा पर्ने हुम्लाको किट खोला क्षेत्रमा दीर्घकालीन रूपमा पानीको मुहानमा चिनियाँ पक्षले नियन्त्रणको प्रयास गर्ने भएकाले त्यसको संरक्षण र कूटनीतिक सम्बोधन हुनु आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।
त्यसबाहेक चिनियाँ पक्षले किट खोलाबाट कर्णाली नदीसम्म अवस्थित नेपाली भूभागमा तारबार लगाएकाले त्यसलाई तत्काल हटाउनुपर्ने पनि प्रतिवेदनमा भनिएको छ।
बीबीसीलाई उपलब्ध गराइएको उक्त प्रतिवेदनबारे नेपालको परराष्ट्र मन्त्रालय र काठमाण्डूस्थित चिनियाँ दूतावासलाई प्रश्न राखेको भए पनि दुवै पक्षले कुनै जवाफ दिएनन्।
सरकारका प्रवक्ताले भने समाचार प्रकाशित भइसकेपछि पत्रकार सम्मेलनमा दुवै छिमेकी मुलुकसँगका सीमा समस्या नेपालले कूटनीतिक माध्यमबाट समाधान गर्ने बताएका छन्।
चीनले नेपालसँग कुनै पनि किसिमको सीमा विवाद नरहेको बताउने गरेको छ।
बीबीसीले हुम्ला जिल्लामा चीनसँग देखिएका सीमा समस्या समाचार प्रकाशन गरेपछि मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सोधिएको एउटा प्रश्नको जवाफ दिँदै नेपाल सरकारका प्रवक्ता तथा सञ्चार एवं सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, “यस सम्बन्धमा हामीले रिपोर्टहरूका आधारमा हैन, वास्तविकताका आधारमा उपयुक्त समयमा वास्तविकतालाई राम्रोसँग अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्छौँ।”
उनले थपे, “हाम्रो सीमा चाहे भारतसँग होस चाहे चीनसँग होस सीमामा कुनै समस्याहरू छन् भने ती समस्याहरूलाई हामी कूटनैतिक ढङ्गले समाधान गर्छौँ। र यी समस्याहरू आउनुहुन्न र आउन नदिनका निमित्त सरकार सदैव प्रयत्नशील रहन्छ।”
Source BBC. Nepali