डोरी चुँडेको चङ्गाजस्तै भए हाम्रा सरकार : भरतविक्रम ढकाल

खवर पाटी (खोज खबरको अभियान)

सरकारले यसबारे नसोचेको होइन, गर्न प्रयास नगरेको भने हो । जति सरकार आए पनि त्यो काम गरेनन्, जुन काम गर्नुपर्ने हो । यस्ता धेरै विषय हेर्दा सरकार नेपाली आकाशमा उडाइएको चङ्गा हो, त्यो पनि धागो चुँडेको । धागो चुँडेपछि चङ्गा आकाशमा कहाँसम्म जान्छ वा जानसक्छ ? यसको परिकल्पना नगरौं । त्यो चङ्गा हावाको गतिअनुसार जहाँ पनि पुग्न सक्छ, गन्तव्य हराएको यात्री जस्तै ।
सरकारको काम जनजीविकाका धेरै कुरामा पुगेन । जस्तो नेपालको कृषि क्षेत्र हो । जहाँ बिचौलिया मौलाउँछन् । हुर्किन्छन्, बढ्छन्, तर कृषक खुम्चिन्छन्, सानो थिए, सानै बन्छन् । यस्तो किन भयो ? किनकि नेपालका जति पनि सरकार आए र भए । उनीहरु डोरी चुँडेको चङ्गा जस्ता भए । सरकारले समुदायस्तरमा कृषिका विविध समूह बनाएर सामुहिक उत्पादन र सामुहिक वितरण प्रणाली अपनाउन सक्थ्यो । कृषकलाई सहज रुपमा ऋण वा अनुदान उपलब्ध गराउन सक्थ्यो । यो प्रणाली छ तर निकै झन्झटिलो र कमिशनखोर प्रणाली हो । यसले प्रभावकारी काम गर्न सकेको छैन ।
कृषकबाट सिधै खरिद गरेर बिचौलियाको अन्त्य गर्न सक्थ्यो । यो पनि गरेन । बिचौलिया प्रायः पार्टीका कार्यकर्ता भएकाले पार्टीहरुले निर्णय लिन सक्दैनन् । वास्तवमा सत्ता र प्रणाली कार्यकर्ताकोा खुशीका लागि प्रयोग गरिने व्यवस्था त होइन, तर यहाँ यस्तै छ । एकपटक चुनाव जितेपछि सधैं सांसद बन्ने रहर । एकपटक प्रधानमन्त्री भएपछि पटक–पटक प्रधानमन्त्री बन्ने रहर । सधैं सधैं पहुँचमै रहने रहर ।
त्यसैले लोकतन्त्र वा गणतन्त्र जे भने पनि यहाँ व्यक्तितन्त्र छ, विधितन्त्र छैन । यहाँ नेता कार्यकर्तालाई धेरै स्वतन्त्रता छ । कसरी भने काम गर्ने उर्जाशील युवा जन्मिएर टुसा पलाएपछि विदेशमा गएर फल्न, फुल्न र रमाउन चाहन्छन् । त्यसैले नेपालमा बसेर कार्यकर्ता बन्नेलाई बढी स्वतन्त्रता छ । विधि र व्यवस्थाको कुरा गर्नेहरु विदेशमा र जे भए पनि हवस हजुर भन्नेहरु नेपालमा छन् । एउटा गरीवको छोरो मर्छ त के भो ? म बाँचेकै छु । यो व्यवहारिक रुपमा देखिएको स्वभाव हो । देश एकले बन्दैन, अनेक चाहिन्छ । यहाँ यसको विपरीत छ । त्यसैले समस्या छ । मूल कुरा गाँस, बास र कपास हो । त्यसैले समस्या छ । हुनेलाई फालाफाल र नहुनेलाई रुवाबासी । ठूलो कृषिको कुरा ? कहाँ बजारको कुरा ? कहाँ उत्पादनको कुरा ? सक्नेले गर्छन्, नसक्ने भाग्छन् । यस्तै छ, यहाँको विधि र व्यवस्था । त्यसैले सरकार डोरी नभएको वा चुँडेको चङ्गा बनेको छ । शेरबहादुर, प्रचण्ड, माधव, केपी ओली वा अन्य कुनै । सधैं अझै आउनुपर्ने र सधैं जित्नैपर्ने । अरुको पालो आउनै कठिन । यस्तै छ, यहाँको निर्वाचन । यहाँको व्यवस्था र प्रणाली । त्यसैले जति वा जुन सरकार आए पनि डोरी चुँडेको चङ्गा जस्तै ।

Facebook Comments Box