ओमानविरुद्ध नेपालको सानदार जित

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपालले ओमानमाथि सानदार जित निकालेको छ । अमेरिकाको ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा मंगलबार राति भएको खेलमा नेपालले ओमानलाई सात विकेटले हरायो ।

अमेरिका भ्रमणमा पहिलो जित निकालेसँगै नेपाल लिगको पाँचौं स्थानमा उक्लिएको छ । नेपालले सिरिजको पहिलो खेलमा ओमानसँग हारेको बदला समेत लिएको छ । सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । नेपाल र अमेरिकाबीचको दोस्रो खेल भने टाई भएको थियो ।

ओमानले दिएको एक सय ६४ रनको विजय लक्ष्य नेपालले ३३।१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले । आसिफले ६२ र कुशलले ५६ रन बनाए । दुवैको यो एकदीवसीय करियरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरे ।

पहिलो विकेटका लागि आसिफ र कुशलले २३।५ ओभरमा एक सय १४ रनको शतकीय साझेदारी समेत गरेको छ । यो एकदीवसीयमा नेपालका लागि ओपनरबाट पहिलो शतकीय साझेदारी पनि हो । यस्तै रोहित पौडेलले अविजित २६ र देव खनालले १० रन बनाएका थिए । दिपेन्द्र सिंह ऐरीले अविजित ६ रन जोडेका थिए । बलिङमा ओमानका फैज बटले दुई तथा खवर अलीले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४६।५ ओभरमा सवै विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो। ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ५२ रन बनाए । सन्दीप गौडले ४७, जतिन्दर सिंहले २३ र नसिम खुसीले १० रन जोडेका थिए ।

ओमानलाई सस्तैमा समेट्न नेपालका करण केसीले पाँच विकेट लिनुभयो । कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिए। जितसँगै पाँचौं स्थानमा उक्लिएको नेपालले १५ खेलबाट १५ नै अंक बनाएको छ । लिगमा सबै ३६ खेल सकेको ओमान ४४ अंक सहित शीर्षस्थानमा यथावत छ ।

सिरिजको अन्तिम खेलमा नेपालले बुधबार राति अमेरिकाविरुद्ध खेल्नेछ । ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी आईसीसी विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *