अनुभूति हुनेगरी आचारसंहिता कार्यान्वयन गर्न सञ्चारमन्त्री कार्कीको निर्देशन

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता एक हप्ताभित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनुभएको छ । विज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सो आचारसंहिता सार्वजनिक गर्दै मन्त्री कार्कीले एक हप्ताभित्र अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको हो ।

विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन जारी गरिएको सो आचारसंहिताको प्रभावकारी कार्यान्वयन नभएसम्म त्यसलाई ऐतिहासिक र महत्वपूर्ण भन्न नसकिने उहाँले स्पष्ट पार्नुभयो । सरोकारवाला पक्षहरुसँगको छलफल पछि जारी गरिएको सो आचारसंहिताले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विकृति र विसङ्गतिको अन्त्य गर्दै समाजलाई लाभान्वित बनाउने मन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो ।

सो आचारसंहिता कार्यान्वयनमा कुनै व्यवधान खडा भए आफ्नो मन्त्रालय त्यसलाई तत्काल हटाउन लागिपर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, ‘आज हामीले आचारसंहिता जारी गरेका छौं । मैले लक्ष्मणजीलाई आचारसंहिताको कुरा गर्दा उहाँलाई मैले हरेक पटक भनेको छु–र अहिले पनि भन्छु– यो आचारसंहिता जारी गर्दैगर्दा प्रभावकारी पनि हुनुपर्‍यो ।’

आचारसंहिता लागू हुन आवश्यक रहेको उहाँले बताउनुभयो । यसका लागि जति धेरै विचार विमर्श, छलफल सम्बन्धित पक्षसँग हुन्छ, त्यत्तिनै यो कार्यान्वयनमा सजिलो हुन्छ भन्ने मैले उहाँलाई सुझाव दिएको उहाँले बताउनुभयो । मलाई लाग्छ, धेरै छलफलपछि यो आचारसंहिता आएको उहाँले बताउनुभयो । आचारसंहिता ऐतिहासिक भएको उहाँले बताउनुभयो ।

“म त्यतिखेर यसलाई ऐतिहासिक भन्छु– अहिले हामी प्रारम्भ मात्रै गर्दैछौं । हामी सुरुवात गर्दैंछौं । यो ३८ पेजको छ । यो आचारसंहितामा अहिले विज्ञापन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, विसङ्गति र विकृतिहरुलाई अन्त गर्दै यसले यो क्षेत्रलाई मात्रै होइन, समाजलाई पनि लाभान्वित गर्न सक्यो भने यो ऐतिहासिक हुनसक्छ ।’

विज्ञापन क्षेत्रलाई स्वच्छ र मर्यादित बनाउन आज जारी आचारसंहिताले अर्को हप्तादेखि नै समाजमा प्रभाव दिन सकोस् उहाँले शुभकामना दिनुभयो । “मेरो त्यो शुभकामना छ । अहिले देखिएका जुन अस्वस्थ प्रतिस्पर्धा छ । विकृति छ । यो आचारसंहिताले अन्त्य गर्छ” मन्त्री कार्कीले भन्नुभयो ।

मन्त्रालयको राजनीतिक नेतृत्व सम्हालेको नेतृत्वको हैसियतले भन्न चाहन्छु– ‘यो आचारसंहिता प्रारम्भ भएको दिनदेखि जुन ठाउँमा अप्ठयारा आउँछन, जुन ठाउँमा अस्पष्टता आउँछन र जसले अगाडि बढनेबेला व्यवधान खडा गर्छ । त्यसलाई तुरुन्त निराकरण गर्न मन्त्रालय साथ रहनेछ’ उहाँले भन्नुभयो, ‘समस्या नीतिमा छैन, अहिले हाम्रो समस्या कार्यान्वयनमा छ । हामी के चाहन्छौं– यो आचारसंहिता अरुलाई लागोस् मलाई चाहिँ नलागोस् । हामी कानुनको बाटोमा र सुशासनको बाटोमा गयौं भनेदेखि यो जसरी अरुलाई लाग्छ, त्यसरी मलाई पनि लाग्नुपर्छ भन्ने मानसिकताका साथ हामी अगाडि बढयौं भने जारी गरेको आचारसंहिता निश्चिय नै प्रभावकारी हुनसक्छ ।’

विकसित देशहरुको परिपाटीलाई हेर्‍यौं भने ती देशहरुमा अनुशासन पहिलो प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । स्वतन्त्रता र अनुशासनलाई साथसाथै अगाडि बढाउन सक्दा देशलाई पनि चाँडै नै सभ्य, सुन्दर देशको रुपमा विकसित गर्न सकिने उहाँले बताउनुभयो । सञ्चार संस्थाहरु टिकाउ विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउनुपर्ने भएकाले यसका लागि सो आचारसंहिता जारी भएकाले सोहीअनुसार विज्ञापन बोर्डले कार्यान्वयन गर्नुपर्ने उहाँले बताउनुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन क्षेत्रमा देखिएका सबैखालका विकृति, विसङ्गतिको अन्त्य गर्दै विज्ञापन व्यवसायमा आबद्ध सबैलाई जिम्मेवार बनाउने उद्देश्यका साथ सो आचारसंहिता निर्माण गरी लागू गरिएको बताउनुभयो । सरोकारवाला पक्षसँग पटक पटक छलफल गरी लागू गरिएको सो आचारसंहिताको कार्यान्वयन पनि सहज ढङ्गले हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । अध्यक्ष हुमागाईँले भन्नुभयो, ‘विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्ने, विज्ञापन व्यवसायमा आबद्ध सबैलाई जिम्मेवार बनाउन आचारसंहिता महत्वपूर्ण पक्ष हो । यसको कार्यान्वयन पनि सहज ढङ्गले हुने अपेक्षा गरिएको छ ।’

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *