आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनलाई कसरी लिनुभएको छ ?
हामीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सकारात्मक रुपमा लिएका छौं । हामी संवैधानिक राजसंस्था र हिन्दु धर्म मान्ने भएकोले यो निर्वाचनलाई हामीले संवैधानिक राजसंस्था र हिन्दु धर्मप्रतिको जनमत संग्रहको रुपमा लिएका छौं । ठुला दलहरुले जनता झुक्याइरहेका छन्, अब हामी जनता झुक्याउन दिने छैनौ । हिन्दुहरुको एकलौटी मत राप्रपामा आउने अपेक्षा राखेका छौं । हामी जनताको घरदैलोमा जाँदा हिजोका दिनमा काँग्रेस–कम्यूनिष्ट हे¥यौं, अब राप्रपा हेर्छौं भनिरहेका छन् । यसबाट हामी अत्यन्त उत्साहित भएका छौं ।
राप्रपाले निर्वाचनको कस्तो तयारी गरिरहेको छ ?
हामीले निर्वाचनको घोषणा हुनु भन्दा अघि देखि नै तयारी गरिरहेका छौं । यस क्रममा राप्रपा प्रवेश गर्नेको लहर नै चलेको छ । मलाई लाग्छ यस पटक राप्रपाले शानदार रुपमा जित्दै छ । हाम्रो टोल टोल सम्म संगठन विस्तार हुँदै छ । त्यसैले हाम्रोलागि यस पटकको निर्वाचन सफल हुनेछ । हामीले सभा, सम्मेलन, ¥याली गरेर जनतालाई जागरुक गरिरहेका छौं । साथै जनता, यति बेला पेट्रोलियम पदार्थमा भइरहेको मुल्य वृद्धिले पिल्सिरहेका छन् । तीन तीन पटक अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थमा मुल्य घट्दा पनि यहाँ आयल निगमले मुल्य घटाउँदैन । सरकारी निकाय कानमा तेल हालेर बसिरहेका छन् । यो जनताको तर्फबाट आवाज उठाउने प्रमुख पार्टी राप्रपा मात्र हो भन्ने कुरा जनताले बुझिसकेका छन् । जनताको सच्चा माया बोकेको एक मात्र पार्टी राप्रपा हो । त्यसैले राप्रपालाई यस पटक जिताउनु होला ।
आगामी निर्वाचनमा राप्रपाले तालमेल गर्छ कि गर्दैन ?
राप्रपाले तालमेल गर्ने सम्बन्धमा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्पूर्ण अधिकार दिएको छ, अध्यक्ष लिङ्देनले गर्ने निर्णय मान्न हामी तयार छौं ।
राप्रपाले एमालेसँग तालमेल गर्ने चर्चा छ नि ?
एमालेले हामीसँग तालमेल गर्ने कुनै प्रस्ताव राखेको छैन । हामी तालमेलको पक्षमा पनि छैनौं ।
राप्रपाले कस्ता उम्मेद्वार उठाउँदै छ ?
राप्रपाले पढेलेखेको युवा, पार्टीको नीति नियम, एजेण्डा मान्ने देशप्रति माया भएको व्यक्तिलाई उम्मेद्वार बनाउँदा प्राथमिकता दिनेछ भन्ने मलाई लागेको छ । हाम्रो उम्मेद्वार संवैधानिक राजतन्त्र र हिन्दु राज्यको राप्रपाको मुल एजेण्डामा प्रतिवद्ध भएको हुनु पर्छ ।
तपाई पनि काठमाण्डौं क्षेत्र नं. ९ बाट उठ्ने चर्चा छ नि ?
अरु पार्टीमा जस्तो राप्रपामा मै खाउ मै लाउ भन्ने छैन । इमान्दार रुपमा भन्नु पर्दा यस पटक म उठ्दिन । पार्टीले उठाएका उम्मेदवारलाई हृदयदेखि नै स्वागत र सहयोग गर्छु । हाम्रो पार्टीमा राम बन्ने छन्, रावण बन्ने छैनन् । सबै राप्रपाका कार्यकर्ता पार्टीप्रति प्रतिवद्ध र इमान्दार भएकाले पार्टीले उठाएका सबै उम्मेद्वारलाई मतदान गर्छन्, सहयोग गर्छन् ।
यो निर्वाचनमा राप्रपाको स्थिति कस्तो रहला ?
यस पटकको निर्वाचनबाट हामी वैकल्पिक शक्तिको रुपमा स्थापित हुन्छौं । राप्रपाका नेता, कार्यकर्ता, शुभचिन्तक, मतदाता नभएर होइन, प्राविधिक कारणले विगतको निर्वाचनमा राप्रपा पहाडी परेको हो । यस पटकको निर्वाचनमा राप्रपाको शानदार उपस्थिति रहने छ । जनताको पार्टी भनेकै राप्रपा हो । यो कुरा प्रमाणित हुँदैछ ।
अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वलाई कसरी लिनु भएको छ ?
एक जनजातीको छोरो भएर हिन्दु धर्म बोकेर, नेतृत्व गरेर हिड्नु भएको छ । यो हामी सबैलाई गर्वको विषय हो । उहाँले कुनै भेदभाव नगरी पार्टी संचालन गरिरहनु भएको छ । एक पैसा घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । यो हामी सबैका लागि मार्गदर्शन हो । के अन्य पार्टीका नेताले यस्तो भन्न सक्छन् । त्यस माथि राजेन्द्र लिङ्देन राप्रपाको अध्यक्ष भए पछि राप्रपामा प्रवेशको लहर चलिरहेको छ ।
यो निर्वाचनमा राप्रपाको प्रमुख एजेण्डा के के छन्, वताइ दिनुस न ?
हाम्रो प्रमुख एजेण्डा भ्रष्टाचार निवारण र सुशासन हो । यसका अलावा संवैधानिक राजसंस्था र सबै अट्ने सनातन हिन्दु राज्य राप्रपाको प्रमुख एजेण्डा हो । यसै गरी प्रत्यक्ष जनताद्वारा निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुापतिक निर्वाचन प्रणाली, सांसदले मन्त्री हुन नपाइने व्यवस्था, केन्द्रमा शक्तिशाली प्रधानमन्त्रीको नेतृत्वमा सरकार र अधिकार सम्पन्न स्थानीय निकाय कायम गर्नु पर्ने राप्रपाको प्रमुख एजेण्डा हो ।
नेपालमा ८० प्रतिशत भन्दा बढी हिन्दु छन् भनिन्छ, राप्रपा हिन्दु धर्म मान्ने मुल पार्टीलाई जनताले जिताउनु पर्ने होइन ?
विश्वमा ७ अर्व जनसंख्या मध्ये कम्तिमा डेढ अर्ब हिन्दु धर्म मान्ने छन्, त्यो हिन्दु धर्म मान्ने मध्ये नेपालमा जनसंख्याको ८० प्रतिशत भन्दा बढी हिन्दु छन् । नेपाल हिन्दुहरुको उद्गम स्थल देवादीदेवको तपोभूमि हो । साथै गौतम बुद्ध जन्मेको देश हो । त्यसैले सबै नेपालीले मानेको हिन्दु धर्मलाई राप्रपाले मुल एजेण्डा बनाएको हो । त्यसैले यस पटकको निर्वाचनमा हिन्दु धर्म मान्ने राप्रपालाई जनताले अमुल्य मत दिएर जिताउँदै छन् । विश्वमा नेपालको पहिचान राख्न पनि नेपालमा हिन्दु राज्यको आवश्यकता छ । राप्रपाले जितेमा हिन्दुहरु जित्छन् ।
अन्तमा देशवासीलाई सन्देश दिनुस् न ?
राप्रपालाई जनताले जिताउने यहि बेला हो । यहि निर्वाचनबाट संवैधानिक राजतन्त्र र हिन्दु धर्मप्रति प्रतिवद्ध राप्रपालाई जिताई दिनुहोस् । अन्तरआत्मादेखि विचार गरेर समानुपातिक र प्रत्यक्ष दुवैतिर मत दिएर राप्रपालाई यस पटक जिताइ दिनुहोस् । दशनामी समाज, सबै जातजाती लगायतमा राप्रपालाई अत्याधिक वहुमतले जिताउन हुन सविनय अनुरोध गर्दछु ।