विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो, ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

अर्थ
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ / साउन मसान्तसम्मा कुल विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घटेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको विनिमय सञ्चिती साउनमा घटेको हो । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार यस्तो सञ्चिति एक महिनामा १७ अर्ब ९५ करोड रुपैयाँले घटेर साउन मसान्तमा भने ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा ०.७ प्रतिशतले कमी आई १० खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।

बैङ्क तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रुपैयाँ रहेकोमा साउन मसान्तमा ६.७ प्रतिशतले कमी आई १ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ कायम भएको छ । साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.७ प्रतिशत, ६६.८ प्रतिशत र २२.२ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *