काठमाडौं । काठमाडौं क्षेत्र नं ७ को चुनावी माहोल यतिबेला चर्चामा रहेको छ । आसन्न निर्वाचनमा यो क्षेत्रबाट सत्ता गठबन्धनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईलाई प्रतिनिधिसभा सदस्यका लागि ‘डेब्यु’ गराएको छ। एमालेले यहाँ श्याम घिमिरेलाई उम्मेदवार बनाएको छ। यस्तै राप्रपाबाट ध्रुवविक्रम मल्ल, स्वतन्त्रबाट यादवलाल कायसथ र रवीन्द्रकुमार श्रेष्ठलगायत उम्मेदवार छन्।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–७ बाट एमाले नेता रामवीर मानन्धर १८ हजार १०२ मतसहित विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का विक्रमबहादुर थापाले कांग्रेसको साथ लिएर १० हजार ७९ मत पाएका थिए। तेस्रो भएकी विवेकशील साझाकी अनुपा श्रेष्ठले ५ हजार ३७६ मत ल्याएकी थिइन्।
गत स्थानीय तह निर्वाचन मतपरिणामले यो क्षेत्रमा एमाले १६८ मतले कांग्रेसभन्दा बलियो देखाएको छ। वडागत मत विश्लेषणका आधारमा हेर्दा काठमाडौं–७ मा एमालेको पक्षमा १० हजार ६९० र कांग्रेसको पक्षमा १० हजार ५२२ मत खसेको देखिन्छ। यस हिसावले पनि गठन्धन र नेकपा एमाले बीच निकै कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने वडाहरुबाट महानगर प्रमुख शाहले ७ हजार १९ मत ल्याएका छन्। यो मत कांग्रेस र एमालेको हाराहारी जस्तै सम्मानजनक नै हो। काठमाडौं क्षेत्र नं ७ मा महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडाहरु, नागार्जुन नगरपालिकाका १, २ र ३ वडा तथा तारकेश्वर नगरपाकिलाकाका ३, ४ र ५ नम्बर वडाहरु समेटीएका छन् ।