यदि कल्पना, भावना, विचार र अनुभूतिसँगै सौन्दर्य र शब्दको अनुपम संयोजनबाट सृजित कलालाईनै कविता भन्ने हो भने ‘भोकको भाइरस’ कविताकै किताब हो । जसमा कवयित्री जीविका अश्रुले आफ्ना जीवनका अनेकन् भोगाइका क्रममा सँगालेका भावनाहरू, मान्छेका विकृत र विसङ्गत स्वभावहरू, कठिनाइ र सङ्घर्षबाट उत्पन्न हुने मानसिक तरङ्गहरूलाईनै आफ्नो कलमले उनेकी छिन्। यी कविताहरू पढेपछि लाग्छ, जटिल विषय र अनुभूतिलाई सरलताका साथ शब्दका उतार्ने यी सौम्य कवि अश्रुसित प्रसस्तै अदृश्य आँसु र पीडा छन् सायद ।
सपनाको यात्राबाट पनि मान्छेहरू धेरै थाक्छन् भन्ने कुरा बुझ्न र आमाको एकमुठी हासोलाई सँगालेर बाबुको अलिकति मिहिन सुस्केरालाई पनि अँगाल्न नसक्नुको दु:खले सन्तानलाई कसरी पछ्याउँछ त्यो थाहा पाउन पनि उनको कविताले पाठकलाई सघाउँछन् । मोरङको जाँतेमा जन्मिएकी कवयित्री अश्रुसँगको छोटो कुराकानी-
तपाईंको पछिल्लो साहित्यिक सन्तान ‘भोकको भाइरस’ बारे थोरै केही बताइदिनुस् न ?
– भोकको भाइरस मेरो पहिलो कविता कृति हो। आफूले भोगेका केही, देखेका केही र सुनेका केही कुराहरू लाई बिषय बनाएर यो सिङ्गो कृति तयार पारेकी हुँ।
तपाईलाई कविता आवेगले लेखाउँछ कि विवेकले?
-मेरो कविता संग्रह यहाँले पढिसक्नु नै भएको होला हजुरलाई कस्तो लाग्छ? आवेग या विवेकले लेखें हुँला?
मेरो यश कृति नपढ्नेका लागि त भन्नै पर्ला। म कविता प्रायः विवेकलेनै लेख्छु यदाकदा आवेगमा पनि लेखिएका छन् ।
सिक्किममा बसेर नेपाली साहित्यमा क्रियाशील हुनुहुन्छ। भौगोलिक अनुभूतिले कत्तिको फरक पारेको महसुस गर्नुभएको छ?
-भूगोलले भन्दापनि ब्यबस्थाले लेखनमा असर गरेको हुन्छ जस्तो लाग्छ मलाई। अभाव अनि दवावले काव्य सिर्जना हुने गर्छन् ।तर यहाँ अर्थात सिक्किममा त्यस्तो कुनै अभाव दबाव र असहज छैन।त्यसैले फरक त हुन्छ नै।
तपाईलाई साहित्य का विविध विधामध्ये प्रभावकारी कविता नै लाग्छ हो? हो भने किन ?
— कविता मात्र नभएर काव्य बिधा सहज र प्रभावकारी लाग्छ। स्वतन्त्र सँग आफ्ना मनमा लागेका कुरा उजागर गर्न सकिने भएकोले प्रभावकारी लाग्छ।
लेखेर तयार भइसकेपछि र त्यही कविता प्रकाशित भएपछि तपाईलाई कस्तो लाग्छ?
— लेख्ने बित्तिकै कविता बहुत राम्रो भएझैं लाग्छ। परिमार्जनको खाँचो पनि नपर्ला जस्तो।जब अर्को कविता लेखिन्छ त्यसपछि भने अघिल्लो कविता केही नपुगेजस्तो, कतै बाटो बिराएजस्तो लागिरहन्छ।अझ प्रकाशन पछि कविता कम्जोर पो हो कि जस्तो लागिरहन्छ।
कविहरू कवितालाई शब्दका बोकाइरहेका छन् भन्ने पनि आरोप लाग्ने गरेको छ ।तपाईंले चाहिँ के गर्नुभएको छ भन्दिनुस् न?
— शब्दमात्र प्रयोग गरेर कविता नबन्ला । पाठकले सहजसँग पढ्न सक्नुपर्छ भन्ने मेरो विचार हो । र मेरा कवितामा पनि सरल शब्दको प्रयोग गर्नेगर्छु म।
कविता र गजल बाहेक तपाईं अरू कुन-कुन विधामा कलम चलाउन हुन्छ?
— गजल र कविता बाहेक लघुकथा, मुक्तक,हाइकु र यात्रा संस्मरण लेख्न रुचाउछु।
तपाईं धेरै घुमन्ते हुनुहुन्छ । त्यसरी घुम्दा कविताको स्रोत कत्तिको भेट्नु हुन्छ ?
–भनिन्छ कवि लेखकले कि त धेरै भन्दा धेरै किताब पढ्नुपर्छ कि त यात्रा गर्नुपर्छ।जसबाट रचनाको स्रोत मिल्छ।हो मलाई पनि घुम्दा अर्थात भ्रमण गर्दा कविताको स्रोत मिल्छ भन्ने लाग्छ।
तपाईका धेरै कविता सामाजिक परिवेश र विषयसित सम्बन्धित छन् तपाईं आफ्ना कविता मार्फत समाजलाई के दिन चाहनु हुन्छ ?
–हरेक कवि,साहित्यकारले समाजलाई केहिनकेही छोड्छन नै।त्यस्तै जीवन र जगतलाई आफ्ना रचना मार्फत सकारात्मक सोचको विकासको निकास मिलोस भन्ने चाहन्छु।
तपाईलाई कविका रूपमा चिन्ने पाठकलाई के भन्न चाहनु हुन्छ?
— पाठक छन् र नै कवि भनेर चिनिएकी छु। तपाईं पाठकको माया सदैव पाइरहुँ।
कविता किन र केका लागि लेख्नुहुन्छ?
–शुरूवातमा रहर/आत्मसन्तुष्टिका लागी लेख्ने गर्थे भने अहिले आएर समाज रुपान्तरणका लागि लेख्ने गर्छु।
सिक्किममा बस्न थालेको कति भयो?
— 2022 को सेप्टेम्बरबाट 27 साल शुरु भयो।
साहित्य बाहेक तपाईको अरू क्षेत्र केही भए भनिदिनुस् न?
साहित्य बाहेक म विशुद्ध गृहिणी हुँ।
तपाईको छिट्टै प्रकाशित हुने कुनै पुस्तक भए त्यसबारे केही बताइदिनुस् न?
— अब चाँडै नै एउटा गजल संग्रह आउँदैछ। सम्भवत यही सालमै प्रकाशित हुनेछ । त्यस बाहेक लघुकथा, मुक्तक र यात्रा संस्मरणपनि प्रकाशनको तयारीमा छन् ।