मनिषा कोइराला राप्रपाको पक्षमा, भनिन ‘राप्रपालाई अत्याधिक मत दिनुहोला’

मुख्य समाचार राजनीति
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आह्वान गरेकी छिन्।

उनले अरुले बीपीलाई बिर्सिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नबिर्सिएको उल्लेख गर्दै त्यसकै कारण आफू राप्रपाको पक्षमा उभिएको बताइन्। शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले राप्रपाका उम्मेदवारलाई रोजेको बताइन्।

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङदेनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ थियो । अभिनेत्री कोइरालाले विपीको विचारलाई पनि लिङदेनले आत्मासात गरेकोमा आफूलाई गर्वबोध उल्लेख गरिन्।

अभिनेतृ कोइरालाले जनताको आवाजलाई संसदमा बलियो बनाउन पनि राप्रपाका उम्मेदवारहरुले जित्नुपर्ने तर्क समेत गरे। अभिनेत्री कोइरालाले भनिन्, ‘अरुले विर्सेर होला । तर राजेन्द्र लिङदेनजीले विर्सनु भएको छैन विपी बालाई । विपी बाको मेलमिलापको नीति । उहाँले अन्तमा आएर बुझ्नु भयो कि । उहाँले नेपाललाई चाहिने कुरा राख्नु भएको छ । म चाहन्छुलाई उहाँहरुलाई अत्याधिक भोटले जिताउनु हो्स्, उहाँहरुका सबै प्रतिनिधिहरुलाई । र, हलोमा भोट दिनुहोस् । र, तपाईहरुको आवाजलाई संसदमा बलियो होस् भन्ने म चाहन्छु । उहाँहरुले तपाईहरुको सेवा गर्न पाउनु यो एउटा ठूलो मौका हो।’

उनले मुलुकका लागि अवसर आएको उल्लेख गर्दै राप्रपाका उम्मेदवारलाई जिताउन आह्वान गरिन्। कोइरालाले भनिन्, ‘अत्याधिक भोट दिनुहोस्। राप्रपालाई जिताउनुहोेस्। सबै उहाँहरुलाई जिताउनुहोस् भन्ने म आशा राख्दछु । तपाईहरुले मलाई सधैं माया दिनु भएको छ । सधैं आर्शिवाद दिनु भएको छ । म त्यसमा गौरव गर्छु । र, म चाहन्छु कि तपाईहरुको माया मेरो जीवनभर रहोस् । तपाईहरु सबैको जयहोस् ।’ अभिनेत्री कोइरालाले नेपाली जनताले आफूलाई सधैं माया गरेको उल्लेख गर्दै त्यसले आफूलाई गौरवबोध गराएको समेत बताइन्।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *