भक्तपुर। भनिन्छ, जसलाई नाङ्गो खुट्टा हिड्न गाह्रो भयो जुत्ताको आविष्कार पनि उसैले गर्यो। सायद होला पनि। किनभने आवश्यकतालेनै आविष्कारको माग गर्छ भन्ने कुरा त विश्वव्यापी सत्यनै हो। भक्तपुरको गठ्ठाघर चोकबाट करिब दुईसय मिटर उत्तरतिर पुरानो ठिमी जाने बाटोको दायाँ तर्फ नेपाली सेनाबाट सेवा निवृत्त एक युवा जुत्तामात्र होइन लेडिज व्याग, स्कुल व्याग, पर्स, बेल्ट, लेदर ज्याकेट बनाउने, मर्मत गर्ने लगायतका काम गरिरहेका भेटिन्छन्। नेपाली सेनाको बीस वर्षे सेवाबाट निवृत्त हुने वितिक्कै आफ्नो सीप र दक्षता भएकै पेशामा फर्किएका ती युवा हुन्, जीवन कोइराला।
आफ्नो पेशामा पूर्ण इमान्दारिताका साथ लागि परेका जीवनले पसलको नाम पनि भू. पू सैनिक लाइफ सुज सेन्टर राखेका छन्। ग्राहकलाई झुक्काउनु र ठग्नु उनलाई अपराध लाग्छ । भन्छन्, ‘ग्राहक सन्तुष्ट हुँदा अपार खुसी लाग्छ।’ स्वभावले पनि निकै मिलनसार छन् जीवन। सबैलाई उनी मित्रवत् व्यवहार गर्छन्। पसलमा पुग्ने ग्राहकहरू उनको पसललाई सुपथ मूल्यको लाग्छ। त्यहाँ मोलमोलाई गर्नुपर्ने अवस्था नआउने र ग्राहकले पनि आफु ठगिएको महसुस कहिल्यै नगर्ने भएकोले स्थानीय ग्राहकको प्राथमिकता पर्दोरहेछन् जीवन। भक्तपुरको कटुन्जेमा जन्मिएका जीवनमा सामाजिक भावना पनि उतिक्कै छ । एउटा आम नागरिकको समाजप्रतिको दायित्व के-के हुन्छ त्यो उनले राम्रोसित बुझेका छन्। सामाजिक सेवामा पनि उनको उतिक्कै रूचि छ । साथीभाइले गर्ने सामाजिक क्रियाकलापमा उनी खुलेर सहयोग गर्छन्। विद्यालयमा उनीसँगै अध्ययन गरेका पुराना साथीहरूको अभियानमा उनको उल्लेख्य सहयोग छ ।
पसलमा भेटिएका उनका सहपाठी हरि गुर्मछानले भने, ‘पुराना साथीहरू प्रति जीवनको व्यवहार र सहयोग अत्यन्तै सकारात्मक छ।’ जीवनका साथीहरू पनि उनको व्यवसायलाई प्रवर्धन गर्न लागि परेका रहेछन्। साथीहरू लेदरका ज्याकेट स्प्रे वा मर्मत गर्न परे तथा छालाका जुत्ता तथा चप्पल, लेडिज व्याग र पर्सका साथै स्पोर्ट्स जुत्ताहरू आवश्यक पर्दा जीवनलाई नै सम्झन्छन्। स्कुल, अफिसका लागि मात्रै होइन विभिन्न उमेरका ग्राहकका लागि पनि जीवन सहुलियत दरमा आफुसित भएको सामाग्री उपलब्ध गराउँछन् ।