एथ्लेटिक्स : पुरुषतर्फ तीर्थ र महिलातर्फ रेखालाई स्वर्ण

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं । पवर्तका तीर्थ पुनले पुरुषतर्फ र नेपाल पुलिस क्लबकी रेखा विष्टले महिलातर्फ गोल्डेन एथ्लेटिक्स मिट-२०२३ अन्तर्गत १० हजार मिटर दौडको स्पर्धामा आइतबार स्वर्ण पदक जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न दौडमा तीर्थले निर्धारित दूरी ३० मिनेट ४७.१ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा पुलिसकी रेखा विष्टले ३९ मिनेट ३८.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । पुरुषतर्फ नेपाल एपीएफका राजेन्द्र तामाङले निर्धारित दूरी ३३ मिनेट २३.८ सेकेन्डमा पूरा गर्दै दोस्रो बन्दा एपीएफकै सन्तोषविक्रम विष्टले ३३ मिनेट ३१.३ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।

उता महिलातर्फ दोलखाकी अञ्जु खड्काले निर्धारित दूरी ४२ मिनेट ४७.३ सेकेन्डमा पूरा गर्दै दोस्रो बन्दा नेपाल पुलिसकी सुमिमा चौधरी तेस्रो बनिन् । सुमिमाले निर्धारित दूरी ४३ मिनेट ३५ सेकेन्डमा पूरा गरेकी हुन् ।

यस्तै पुरुष १५ सय मिटर दौडमा नागेश्वर ऐरले स्वर्ण पदक हात पार्दा एपीएफका सञ्जीव नेपालीले रजत र विकेश घिमिरेले कास्य पदक जिते भने महिलातर्फको प्रतिस्पर्धामा नेपाल पुलिसकी राममाया बुढाले स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी ५ मिनेट ०.६ सेकेन्डमा पूरा गरेकी हुन् । एपीएफकी फूलमती रानाले ५ मिनेट ०.७ सेकेन्डमा पूरा गर्दै रजत पदक हात पार्दा एपीएफकै आशा रावलले ५ मिनेट १२.८ सेकेन्डमा पूरा गर्दै कास्य पदकमा चित्त बुझाइन् ।

रंगशालामा आइतबारै सम्पन्न सय मिटरमा कर्णाली प्रदेशका युवराज विकले स्वर्ण पदक हात पार्दा एपीएफका शिवराम पार्कीले रजत र नीरप्रताप महतोले कास्य पदक जिते । यस्तै महिलातर्फ दाङकी निशा चौधरीले नेपाल पुलिसकी लक्ष्मी साउदलाई पछि पार्दै स्वर्ण पदक जित्दा ललितपुरकी रजिना दुलालले सय मिटरको स्पर्धामा कास्य पदक जितिन् ।

यस्तै ४ गुणा १ सय मिटर पुरुष रिलेमा एपीएफले स्वर्ण पदक हात पार्‍यो । लुम्बिनी प्रदेशले रजत पदक निकाल्दा नेपाल पुलिस क्लवले कास्यमा चित्त बुझायो । महिलातर्फ एपीएफले स्वर्ण जित्दा हिमालयन एन्जल्सले रजत र नेपाल पुलिसले कास्य पदक निकाल्यो ।

प्रतियोगिताअन्तर्गत आइतबारै भएको पुरुष लङ्जम्पमा एपीएफ क्लवका सलिम देवानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । सलिमले ७.०९ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सलिमले आफ्नै नाममा रहेको ७.०६ मिटरको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् ।

यसअघि सलिमले नवौं राष्ट्रिय खेलकुदमा कृष्णबहादुर गिरीको नाममा रहेको ७ मिटरको कीर्तिमानलाई तोडेका थिए । सो कीर्तिमान गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए ।

यस्तै सुदीप थारुले ६.६७ मिटर जम्प गर्दै रजत र मिथुन चौधरीले ६.४३ मिटर जम्प गर्दै कास्य पदक जिते । महिलातर्फ लुम्बिनी प्रदेशकी निशा चौधरीले ५.५२ मिटर जम्प गर्दै स्वर्ण पदक हात पारिन् । यस्तै पुलिसकी सीमा चौधरीले ४.८४ मिटर जम्प गर्दै रजत र एपीएफकी रञ्जिता राईले ४.६० मिटर जम्प गर्दै कास्य पदक हात पारिन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *