काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेलमा पुन:वर्षा सुरु भएको छ। युएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पुन:वर्षा सुरू भएर खेल रोकिन पुगेको छ।
यसअघि १६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा वर्षा सुरू भएसँगै नेपाल र युएइबीचको खेल रोकिएको थियो। तर केही समयमानै वर्षा रोकिएपछि पुन:खेल सुरू भएको थियो। जहाँ नेपालले आफ्नो सानदार बलिङ याट्याक जारी राख्दा युएई सस्तैमा समेटिन लागेको थियो।
टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले युएईविरुद्ध कसिलो बलिङ गर्दै गतिलो सुरुवात गरेको थियो। युएईका आसिफ खान ४६ रनको अवस्थामा ललितको २८ ओभरको दोस्रो बलमा आउट हुँदा उनले तेस्रो बलमा जाहुर खानलाई शुन्य रनमा पेभलियन पठाएका थिए। त्यसलगतै वर्षा सुरु भएको थियो।
युएईका लागि आसिफ खानबाहेक कुनैपनि ब्याटर क्रिजमा जम्न सकेका छैनन्। अब नेपाल युएईलाई अलआउट गर्नु भन्दा १ विकेटमात्र टाढा छ। उसका लागि आसिफ खानले ४६ रन बनाउनु सर्वाधिक रह्यो। त्यस्तै कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए। नेपालका लागि ललित राजवंशीले ३ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले समान २-२ विकेट हात पारे। त्यस्तै सोमपाल कामी र गुल्सन झाले समान १-१ विकेट लिएका थिए।
आज वर्षाको कारणले थप खेल हुन नसके मंगलबार पुन:खेल खेलाउने प्रयास गरिने छ। यदि मंगलबारपनि वर्षाले खेल पूर्ण हुन नदिएको खण्डमा सुपर ओभरको प्रयास गरिने छ। यदि सुपर ओभरपनि हुन नसके वरियताका आधारमा नेपाल एसियाकपमा छनोट हुने छ।