राप्रपाको प्रमुख एजेण्डा जनतालाई पहिला बुझाउनु पर्छ : प्रकाशलाल जोशी

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
प्रकाशलाल जोशी सहायक महामन्त्री, राष्ट्रिय प्रजातन्त्र पार्टी

नक्कली भुटानी शरणार्थी प्रकरणलाई कसरी लिनु भएको छ ?
नक्कली भुटानी शरणार्थी प्रकरणबारे भन्नु पर्दा यो मानव वेचविखन नै हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कडा भन्दा कडा सजाय हुनुपर्छ । उनीहरुलाई आजिवन राजनीतिबाट अलग गर्नु पर्छ । भुटानी शरणार्थी प्रकरणले देशकै अपमान भएको छ । केही सिमितका कारण हामी सबै अपमानित हुनु परेको छ । त्यसो त यस प्रकरणमा जोडिएकालाई वचाउन उच्च स्तरको दौडधुप भइरहेको देखिन्छ । काँग्रेस कम्यूनिष्ट नै यो प्रकरणमा जोडिएकाले देशको भविष्यमाथि नै खेलवाड गरिरहेको पुष्टी हुन्छ । हुन त नेपालमा नक्कली भूटानी शरणार्थी प्रकरण एउटाको बढी चर्चा भयो । काँग्रेस–कम्यूनिष्टले यस्ता दर्जनौं काण्ड घटाइसकेका छन् । त्यसैले सबै काण्डको निष्पक्ष रुपमा छानविन गर्नुपर्छ । यस्ता काण्डमा जोडिएको छानविन गर्न उच्च स्तरीय न्यायीक आयोग गठन गर्नुपर्छ । भ्रष्टाचारीलाई जनताको, न्यायको कठघरामा उभ्याउनु पर्छ । हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनले एक पैसा घुस खानु भनेको आमाको रगत खानु सरह हो भन्नु भएको छ । के ठुला दलको नेताहरुले यस्तो भन्न सक्छन् ?

राष्ट्रपतिद्वारा केही दिन अघि जारी भएको नागरिकता विधेयकबारे के भन्नु हुन्छ ?
नागरिकता विधेयक अनियमित हो । नागरिकता विधेयक कानून विपरित आएको हो । यो विधेयकलाई नयाँ संसदमा छलफल गर्नु पथ्र्याे तर रातारात नागरिकता विधेयक आयो । सम्पूर्ण नेपालीलाई नागरिकता दिनुपर्छ, यसमा सन्देह छैन तर नागरिकता दिने नाममा राज्यको नियम कानून, परम्परा छल्न पाइदैन । नागरिकता विधेयक भारतीयहरुलाई खुशी पनि ल्याइएको हो । यो विधेयकमा जोडिएका विवादास्पद विषयलाई संसदमा ल्याएर फेरि गम्भीर छलफल गर्नुपर्छ । सबै पक्षको भावना अटाउने गरी यो विधेयकलाई परिमार्जन गर्नुपर्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणलाई कसरी नियाल्नु भएको छ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नियमित जस्तो मात्र भयो । नेपालले कुनेै लाभ लिन सकेन । सिमानाको बारे कुनै छलफल भएन । सो विषय एजेण्डामै रहेन । नेपाल–भारतबीच विवादित अन्य कुरा पनि भ्रमणको क्रम उठेन । भ्रमणको चर्चा धेरै भयो, उपलब्धी देखिएन ।

देशमा व्याप्त भ्रष्टाचार बारे तपाई के भन्नु हुन्छ ?
देशमा व्याप्त भ्रष्टाचार अन्त गर्न कडा भन्दा कडा कानून ल्याउनु पर्छ । जुनसुकै तहमा रहेका भएपनि भ्रष्टहरुलाई कानूनी दायरामा ल्याउनुु पर्छ । त्यस्ता भ्रष्टहरुलाई आजिवन कारावास वा तिन पुस्ते सम्पत्ति जफत गर्नुपर्छ । यसरी राज्य अघि बढ्यो भने भ्रष्टाचार कम हुँदै जानेछ । भ्रष्टाचारीलाई राजनीतिक संरक्षण गर्नेलाई पनि कडा कारवाही गर्नु पर्छ । हुन त नेपालमा ठुला नेताहरुकै संरक्षणमा ठुल ठुला भ्रष्टहरुले उन्मुक्ति पाइरहेका छन् । त्यसैले २०४७ साल यताको सबै भ्रष्टाचार छानविन हुनु पर्छ । यसका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्नुपर्छ ।

देशभर फैलिरहेको महँगीबारे तपाईको दृष्टिकोण राख्नुस् न ?
देशभर महँगी बढेको सबैलाई थाहा भएकै कुरा हो । महँगी नियन्त्रण गर्न पहिले सरकारी निकाय अघि सर्नुपर्छ । सरकारी निकाय कै कमि कमजोरीले महँगी बढेको हो । देशमा उत्पादन छैन । नून नेल देखि खाद्यान्न सम्म विदेशबाट ल्याउनुपर्छ अनि किन महँगी हुँदैन । स्वदेशमै खेती गर्ने होनाहार युवाहरु विदेशिएका छन्, अनि कसले गर्छ खेतिपाती । महँगी बढ्नुको प्रमुख कारण यो पनि हो ।

राप्रपा अब कसरी अघि बढ्नु पर्छ ?
सबै भन्दा पहिला राप्रपाले आफ्ना एजेण्डालाई लिएर सबै जनताको घर दैलोमा पुग्नु पर्छ । राजसंस्था र हिन्दु राज्यको राप्रपाको यो प्रमुख एजेण्डालाई तल्लो तहसम्मका जनतालाई बुझाउनु पर्छ । त्यसको अलावा राप्रपाले आफ्नो संगठन देशव्यापी रुपमा फैलाउनु पर्छ । राप्रपाले कुनै पनि सर्तमा आफ्नो एजेण्डालाई विचलित हुन दिनु हुन्न । राप्रपाको स्थिति जसरी बलियो र मजवुत हुँदै छ अर्काे निर्वाचन सम्म राप्रपाले आफ्नो आकार बढाउदै लैजानु पर्छ । संसद बाटै राप्रपाले आफ्ना एजेण्डा स्थापित गर्ने सम्मको पार्टीलाई बलियो बनाउनु पर्छ । हामीले संगठनमा त्यति मजबुत तरिकाले अघि बढ्न नसकेका कारण हामी केही कमजोर मात्र देखिएका हौं । हिन्दु राज्य र राजसंस्थालाई मन पराउनेहरु राप्रपामा एकतावद्ध हुन चाहिरेका छन् । यसमा हामीले विचार पु¥याउनु पर्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियताबारे तपाई के भन्नु हुन्छ ?
राष्ट्रवादी शक्तिहरु जबसम्म एकत्रित हुन सक्दैनन्, तबसम्म आफ्ना एजेण्डा स्थापित गर्न सकिदैन । तसर्थ राजसंस्थावादी र हिन्दुवादीहरु पहिला संगठित भएमात्र नेपालमा राजसंस्था र हिन्दु राज्य स्थापित हुनेछ । अहिले पूर्व राजा ज्ञानेन्द्र शाहको जुन सक्रियता छ, त्यो स्वभाविकै हो । जनताले बोलाउँदा कार्यक्रममा नजाने ? के बोल्दै नबोल्ने ? देशमा यत्रो भ्रष्टाचार, अनियमितता छ उहाँले बोल्नै नपाउने ? मलाई लाग्छ पूर्व राजा शाहबाट भएको सम्बोधन र क्रियाकलाप जनआवाज हो । उहाँको सम्बोधनलाई मनन गरेर हामी अघि बढ्नु पर्ने बेला आएको छ ।

के नेपालमा अब राजसंस्था फर्केला ?
फर्कन्छ, फर्कनु पर्छ । नेपालमा राजसंस्था चाहिने आम जनतामा महसुस भइसक्यो यो कुरा नेताहरुले पनि महसुस गरिसके । अब राजसंस्थाबाट मात्र देशको भविष्य छ । देश बचाउन र जनतालाई संगठित गर्न राजसंस्था अति आवश्यक छ ।

यस वर्षको वार्षिक बजेटलाई कसरी लिनु भयो ?
यस पटकको बजेट जनतामुखी भएन, नेतामुखी भयो । बजेटमा, केही नयाँ छैनन्, जनतालाई राहत दिन, नयाँ उद्योग, कलकारखाना खोल्न बजेटमा ध्यान गएको देखिदैन । देशको विकास गर्ने बजेटमा त्यस्तो नयाँ केही देखिदैन । बजेट कर्मकाण्डी खालको छ । गरिब जनतालाई राहात दिन बजेटमा केही पनि देखिदैन ।

अन्तमा तपाईको सन्देश दिनुस् न ?
अहिले देशको परिस्थितिलाई राम्रोसँग बुझेर देशको प्रमुख राष्ट्रवादी, राजसंस्थावादी र हिन्दुवादी पार्टी राप्रपामा सबै भुभागमा बस्ने जनता आवद्ध भइदिनु होला । राप्रपाबाटमत्र देशमा शान्ति, समृद्धि, राजनीतिक स्थीरता संभव छ । राप्रपाले सरकारको नेतृत्व गर्न पाए व्यापक रुपमा भ्रष्टाचारको छानविन गर्नेछ, भ्रष्टाचारको अन्त गर्ने छ । राप्रपाले नेपालमा सर्वसंस्था र हिन्दु राज्य ल्याउन जुन अभियान थालेको छ, त्यसलाई सबै जनताले साथ र सहयोग गरि दिनु हुन आव्हान गर्दछु ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *