अहिले पनि म जनतासँगै छु, मैदानमै छु : डा. ज्ञान बस्नेत

अन्तरवार्ता
खवर पाटी (खोज खबरको अभियान)
डा. ज्ञान बस्नेत सामाजिक अभियन्ता

डा. ज्ञान बस्नेत चिनाइरहनु पर्ने नाम होइन । बेलायतबाट कानूनमा महाविधावारिधि गर्नु भएका डा. बस्नेत कानूनका अध्यापक, अनुशन्धानकर्ता, सामाजिक अभियन्ता, भ्रष्टाचारविरुद्धको अभियन्ता र अधिवक्ता तथा राजनीतिक विश्लेषक समेत हुनुहुन्छ । देश विदेशमा अध्ययन अध्यापन गरेका र मानव अधिकार सम्बन्धी कानूनको ज्ञाता समेत रहेका डा. बस्नेत गत निर्वाचनमा काठमाण्डौं क्षेत्र नं. ९ बाट संघिय संसदको उम्मेदवार हुनुहुन्थ्यो । प्रस्तुत छ देशका विभिन्न राजनीतिक घटनाक्रमबारे डा. ज्ञान बस्नेतसँग गरिएको कुराकानी :
मुलुकको वर्तमान राजनीतिक अवस्थालाई कसरी नियाल्नु भएको छ ?
देशमा अत्यन्त तरलता छ । अािर्थक रुपमा डामाडोल छ । दलहरु सत्ताकै खेलमा व्यस्त छन् । जनजिविकाको कुरामा प्रगती भएको छैन । यिनीहरुको मनोग्रन्थीलाई हेर्दा देश फेरि अस्थीरतातर्फ जाने संकेत गर्छ । गठबन्धनको राजनीतिलाई संस्कारयुक्त बनाउन सकेनन् । संविधान कानून कसैले मानेनन् । यसको उदाहरण अहिलेको कोशी प्रदेशलाई हेरे पुग्छ ।

राष्ट्रपतिद्वारा केहि दिन अघि जारी भएको नागरिकता विधेयकबारे के भन्नुहुन्छ ?
केही समय पहिला जारी भएको यो नागरिकता विधेयक चोरबाटो बाट प्रमाणित भयो । यो नृत्य नै थियो । पूर्वराष्ट्रपति विद्या भण्डारीले अस्वीकार गरेको विधेयकलाई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले फेरि त्यो कागज व्यूताउने काम गरे । रामचन्द्र पौडेल राष्ट्रपति भएपछि राजनीतिक लेनदेनमा चलिरहेको संसदलाई छलेर प्रमाणिकरण गर्ने जस्तो हर्कत अराजनीतिक मात्र हैन, यो घोर असंवैधानिक पनि हो । गैर कानूनी हो । यो राष्ट्रप्रतिकै अपमान समेत थियो । फेरी यसरी पास गरियो कि प्रधानमन्त्री दिल्ली जानुभन्दा दुई घण्टा अगाडी प्रमाणिकरण गराएर पकेटमा हालेर उता जानु भयो । यतिका हतारो किन थियो । चलिरहेको संसद किन छल्नु प¥यो ? नयाँ संसदमा किन लगिएन ? र सँगसँगै यो विषय सर्वाेच्चमा पनि पुग्यो । र जनस्तरबाट घोर विरोध हुँदा हुँदै पनि, यो राष्ट्रहितमा थिएन भन्ने थाहा हुँदा हुँदै पनि र भारतीय प्रोजेक्ट थियो भन्ने थाहा हुँदा हुँदै पनि र सबै भन्दा महत्वपूर्ण कुरा संवैधानिक प्रक्रिया मिचेर निष्कृय भइसकेको विधेयक किन प्रमाणिकरण गरियो भन्ने प्रश्नको उत्तर अहिलेसम्म कसैले दिन सकेको छैन । र यसको परिणाम अहिले स्पष्ट देखिन थालेको छ । हजारौं हजार गैर नागरिकले नागरिकता पाउने बाटो खुलेको छ । नेपाल चाही अब नागरिकता बाँड्ने मुलुक भएको छ । यथास्थितिमा प्रमाणिकरण भइसकेपछि मधेश प्रदेशमा भारतीय नागरिकहरुले नेपालीको नागरिकता लिनको लागि घुइचो थामिनसक्नु भएको कुरा समाचारमा आइरहेको छ । यो हाम्रो लागि दुर्भाग्य पूर्ण कुरा हो । २०६२÷६३ मा ५० लाख जति भारतीयहरुले नेपाली नागरिकता लिएको कुरा आएको थियो र यो विधेयक अनुसार ६० देखि ८० लाख गैर नेपालीले नागरिकता पाउने निश्चित छ । र अब नेपालीहरु भविष्यमा आफ्नै देशमा अल्पमतमा पर्ने अवस्था देखिन्छ । र नागरिकता विधेयक पारित भएपछि मुलुक फिजिकरण तिर गइसक्यो । लेल्डुप प्रवृत्तिका नेता नेतृत्वले यो भूमिलाई सिक्किमकरणको बाटोमा लागि सकेको भान हुन्छ । जन विद्रोहबाट यो नागरिकता विधेयक खारेज गर्नु पर्छ ।

नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणलाई कसरी लिनु भएको छ ?
नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास काण्ड यि दुई केश राष्ट्र विरुद्धको अपराध हो । ठगि हो, कृत्य हो, संगठित अपराध हो । र सबै भन्दा ठूलो कुरा शक्तिको दुरुपयोग हो । यो नेपालीको नुरलाई झुकाउने लज्जास्पद हर्कत हो । नेता नेतृत्व र दलका मान्छेहरु शक्तिको आडमा पैसाको लागि राज्यको सम्पत्ति कसरी दोहन गर्छन् र कुन हदसम्म अपराध गर्न लालाचित हुन्छन् भन्ने कुराको यो ठूलो उदाहरण हो । दुवै प्रकरणमा अब राज्य निर्मम बन्नु पर्छ र यसमा संलग्न सबैलाई कारवाही गर्नु पर्छ । ललिता निवास प्रकरणका मान्छेहरु, नेताहरु, नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु देउवा, मञ्जु खाँड, रामवहादुर थापा ‘बादल’ र अहिलेको अख्तियार प्रमुख सहितका व्यक्तिहरु माथि समेत गम्भीर छानविन नगरिएमा यी दुवै मुद्दाहरु टुङ्गोमा पुगेको मानिने छैन । साना माछाहरुलाई मात्र कारवाही गरेर कुनै अर्थ छैन । यो देखावटी र राजनीतिक स्टन्ट मात्र हुनेछ ।

यसका अलावा देशमा व्याप्त भ्रष्टाचारबारे के भन्नु हुन्छ ?
ललितानिवास प्रकरण नै उदाहरण भइसक्यो । यदि व्यवस्था वचाउने हो भने २०४६ साल पछि भएका भ्रष्टाचारका सम्पूर्ण फाइल खोलिनु पर्छ । सत्ता र शक्तिमा बसेका सबैको सम्पत्ति छानविन हुनुपर्छ । ठूला ठूला मुद्दाहरु यति काण्ड, ओम्नी काण्ड, प्रिन्टिङ प्रेस काण्ड, ३३ केजी सुन काण्ड, नेपाल ट्रष्टको कुरा र सगरमाथा निकुञ्जका जग्गा प्रकरणहरुको समेतको अब फाइल खोल्नु पर्छ । र सामेल भएका सम्पूर्णलाई कानूनको दायरामा ल्याएर जेल चलान गर्नुपर्छ । अनि मात्र राजनीतिक सुत्रपात हुनेछ ।

देशभर फैलिरहेको महँगीबारे तपाईको दृष्टिकोण राख्नुस् न ?
संविधानले यो मुलुक समावेशिता, समानता र समाजवाद उन्मुख भनेछ, तर मान्छे आत्म दह गर्ने सम्मको अवस्थामा पु¥याइएको छ । विहान बेलुका के खाउँ भन्ने अवस्थामा जनता छन् । मुलुक रेमिट्यान्सबाट चलेको छ । कृषि प्रधान मुलुक भनिएको छ, तर जमिन बाँझै छ । उत्पादन छैन, सरकारसँग कुनै नीति छैन । मुलुक नियातमुखी बनाइएको छ, यो अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो र सरकारले यस कुरामा ध्यान नदिएमा, गम्भीर रुपमा नलिएमा जनविद्रोह निश्चित छ । सरकारकै कारण महंगी बढिरहेको छ ।

यस वर्षको नयाँ बजेट तपाईलाई कस्तो लाग्यो ?
नयाँ आर्थिक वर्षको बजेटमा ठुलो विरोधका बाबजुत पनि पास भयो । संसदमा ठुलै छलफल भए तर बजेटमा एउटा कमासमेत परिवर्तन गरिएन, यो बजेटमा देशको आवश्यकता के हो, हाम्रो गन्तव्य के हो, शिक्षा, स्वास्थ्य र कृषि लगायत सबै कुराको मोडल के हो भन्ने कुरा कतै छैन । ठुला दलका नेताको क्षेत्रमा मात्र सम्पूर्ण बजेट खनाइएको छ । र अर्काे निर्वाचनमा आफ्नो क्षेत्र सुरक्षित गर्ने हिसाबले मात्र बजेट आएको छ । यो आपत्तिजनक र संविधानको मुल्य मान्यताको विपरित छ । यो बजेटले हाम्रो देशको आवश्यकतालाई पुरा गर्न सकेको छैन । यो बारे गम्भीर रुपले सोच्नुपर्छ र चार ठुला दलका नेताको क्षेत्रमा मात्र ५१ प्रतिशत बजेट पारिनु भ्रष्टाचार हो । शक्तिको दुरुपयोग हो र सबै भन्दा ठुलो कुरा तीन करोड जनताको अपमान हो र सत्ताधारीहरु के भुल्नु हुन्न भने नेपाल भनेको उनीहरुको निर्वाचन क्षेत्र मात्र होइन । उनीहरुले यहाँ नेपालमा ७७ जिल्ला छन् भन्ने भुल्नु हुँदैन । यसमा सबै गम्भीर बनुन् ।

पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतालाई कसरी लिनु भएको छ ?
पछिल्लो अवस्थामा राजा ज्ञानेन्द्र सक्रिय भएको महसुस हुँदैछ । विभिन्न आंकलनहरु गरिँदैछ । राजाको भारत र थाइल्याण्ड भ्रमण र अरु गतिविधिले कतै राजा सत्तामा फेरि फर्कने त होइन भन्ने किसिमको परेको देखिन्छ । र यो भनेको ४० वर्षदेखि सत्ता र शक्तिमा रहेकाहरुले विकल्प दिन नसक्नुको परिणाम हो । अब वर्तमान नेता नेतृत्व र दलीय सिण्डिकेटले मुलुक थिलथिलो भएको अवस्थामा नेपाली जनताले अहिलेको व्यवस्थाको विकल्प चाहेका छन् कि भन्ने परिदृश्य देखिँदैछ । दलका नेताहरुको व्यापक भ्रष्टाचारहरु बाट आजित नेपाली जनताले के गणतन्त्र यस्तै हुन्छ भने प्रश्न गर्न थालेको महसुस हुँदैछ । र सबै भन्दा ठुलो कुरा संघीयताको ठुलो विरोध हिन्दु राष्ट्रको कुराहरु र पछिल्लो अवस्थामा प्रचण्डसहितको गेरुवस्त्रको अवतारले कतै भित्रभित्र केही त पाक्दै छैन भन्ने ठुलो आशंका अब्जाएको छ ।

गत निर्वाचनमा तपाई काठमाण्डौं क्षेत्र नं. ९ बाट स्वतन्त्र उम्मेदवार उठ्नु भएको थियो । तपाईले सो निर्वाचनलाई जोडेर अहिले आफ्नो विचार राख्नुस न ?
गएको निर्वाचनमा मैले पनि संघीय संसदमा स्वतन्त्र उठेको थिएँ । अनुभव अत्यन्त राम्रो रह्यो । काठमाण्डौं क्षेत्र नं. ९को भुगोल, सभ्यता, संस्कृति र सबैभन्दा ठुलो कुरो रहेक तहका मानिसहरुसँग भेटघाट गर्ने, साक्षात्कार गर्ने सौभाग्य मिल्यो र मेरो लागि ठुलो अवसर यो थियो । प्रत्येक मतदाताको घर घरमा पुग्ने प्रयास गरे, भेटे, आफ्ना कुरा राखें, उहाँहरुका समस्या बुझें र बुझ्ने मौका पाएँ । र अनुभव अनुपम रह्यो र जनताको साथ पनि राम्रै पाएँ । सबैभन्दा ठुलो कुरा चुनावमा हार जित हुन्छ । जित्न सकिन तर पनि यो क्षेत्र र जनताको आवश्यकताको पक्षमा वकालत गर्न, आवाज उठाउन मैले छोडेको छैन । मतदाताको घर घरमा जान छाडेको छैन र अहिले पनि म जनतासँगै छु, मैदानमै छु । र पत्रपत्रिका, टेलिभिजन, फेसबुक युटुवका माध्यमबाट जनताको आवश्यकताका कुरा उठाइरहेको छु । राष्ट्रियताको सवालमा बोलिरहेको छु, लेखिरहेकै छु र सरकारको नराम्रो कुराहरु भण्डाफोर गरिरहेको छु । भ्रष्टाचार विरोधी अभियानमा सरिक छु र सबैभन्दा महत्वपूर्ण कुरा आगामी निर्वाचन पनि म यसै क्षेत्रमा उठ्ने प्रतिवद्धता व्यक्त गर्दछु । र म स्वतन्त्रै छु । कुनै पार्टीमा आवद्ध छैन र स्वतन्त्रै उम्मेदवारकै रुपमा काठमाण्डौं क्षेत्र नं. ९ का जनताको घर दैलोमा उपस्थित हुने वाचा समेत गर्दछु । र पहिलाकै जस्तै यहाँहरुको सहयोगको पनि अपेक्षा राख्दछु ।

तपाई अन्य पार्टीमा प्रवेशको त तयारी गर्नु भएको छैन ?
मलाई पार्टी प्रवेशमा ठुला, साना, नयाँ सबै दलबाट अफर आइरहेको छ, तोकता भइरहेको छ । तर पनि म स्वतन्त्र थिए, स्वतन्त्र रहने निर्णय गरेको छु । पुरानाले निकास दिन सक्दैनन् भन्ने पुष्टी भइसकेको छ । भर्खर जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि दमदार रुपले प्रस्तुत हुन सकेन र एमाले र काँग्रेस सँगै सति जाने अवस्था देखियो । अब मेरो सिद्धान्त मिल्ने कुनै दल आएमा र अझ स्पष्ट रुपमा भन्नु पर्दा बालेन शाह र हर्क साम्पाङहरुसँग कसरी अगाडी बढ्ने भनेर कुरा भइरहेको छ । सायद हाम्रो दल पनि उहाँहरुसँग मिलेर बन्न सक्छ । यसमा विकल्पहरु धेरै छन् र २०८४ सालको निर्वाचनलाई ध्यानमा राखेर हामी तयारी गर्दैछौं र जस्तो भएपनि हाम्रो उद्देश्य यो देश र भुगोललाई वचाउनु हुनेछ । हाम्रो युद्ध भनेको संस्कारको राजनीति र सामाजिक न्यायको लागि हुनेछ ।

ठुला दलहरुलाई तपाई कसरी विश्लेषण गर्नु हुन्छ ?
ठुला दलले सत्ता चलाएको ४० वर्ष हुन लाग्यो तर निकास दिन नसकेको कुरा सत्य हो भनेर यो कुरा स्वीकार्नु होस्, आत्मसमिक्षा गरेर अगाडि बढ्नुस्, यो भुगोल र सभ्यता सेन्टरमा राखेर पोलिसी वनाउनुस्, नयाँ सिराबाट अगाडी बढ्नुस् । यो देश कसैको पेवा होइन, राजनीतिक दल पनि राष्ट्रकै सम्पत्ति हो, जनताकै सम्पत्ति हो र कसैको पेवा हुन सक्दैन । अब सकिने कि सुध्रिने कुरा दलका तमाम कार्यकर्ता र नेतृत्वको कार्यशैलीमा भर पर्ने हुनाले अब कार्यशैली बदल्नुस्, आफ्नै सोचले अघि बढ्नुस् र सबैभन्दा ठुलो कुरा विधि विधानमा बसेर काम गर्ने परिपाटीको सुत्रपात गर्नुस् । अरु विकल्प छैन ।

अन्तमा तपाईको सन्देश दिनुस् न ?
देश आर्थिक रुपमा, सामाजिक रुपमा र राजनीतिक रुपमा सुगौली सन्धि पछाडी एक पटक फेरि भयानक संकटमा छ । अहिलेकाहरुले देश नै विघटन गर्ने हुन कि भन्ने शंका छ । लेण्डुपहरुको जताततै विगविगी छ र हामी जनताले, चेतनाले काम गर्नुपर्छ । सुझबुझले काम गर्नु पर्छ । देश जसरी भए पनि वचाउनै पर्छ । यो हामी सबैको सामुहिक दायित्व समेत हो । अहिले मागेको छ, देशले माग्दा अहिले हामी काम लाग्दैनौ भने हाम्रो काम कहिले आउँछ ? र हामी जहाँ छौं, जुन रुपमा छौं, जुन हैसियतमा छौं, त्यही बाटोबाट खबरदारी गरौ, सत्यको वकालत गरौं । देश वचाउन हामी संगठीत होऊ । जय देश ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *