जलहरी प्रकरणमा भ्रष्टाचारका प्रमाण भेटिए, सबै अनुसन्धान पूरा भएपछि प्रतिवेदन सार्वजनिक गरिने

मुख्य समाचार समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौँ- पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने क्रममा भएको अनियमिततामाथि छानबिन गर्न प्राविधिक टोलीसहित मन्दिरमै पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका क्रममा नयाँ तथ्यहरू फेला पारेको छ। आइतबार दिउँसाे दुई बजेदेखि मन्दिर परिसर पूर्णरूपमा खालि गराई सुनकाे जलहरी निकालेर नापजाँच गर्ने काम साेमबार बिहानमात्र सकिएकाे छ।

राष्ट्र बैँकबाट १०३ किलो ७ सय ७३ ग्राम सुन किनेर राखिएको जलहरीमा नापताैलका क्रममा सुनकाे परिमाण र गुणस्तरबारे कमजाेरी पाइएकाे अख्तियार स्राेतले जानकारी दिए पनि त्यसकाे सम्पूर्ण तथ्यहरू अनुसन्धान पूरा भएपछि सार्वजनिक गरिने बताइएकाे छ।

सुनकाे जलहरी राख्ने क्रममा सुन खरिदमा ८० कराेडभन्दा माथि खर्च भएकाे र त्यसकाे कालिगढीका लागि ३ कराेड रुपैयाँ अलग्गै खर्च भएकाे अख्तियार स्राेतले जनाकारी दिएको छ। उक्त ३ कराेड रकम आफूले अलग्गै दिएको बयान भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएकाे स्रोतले जनाएकाे छ।

सयाैँ वर्षसम्म ननिकाल्नेगरी पशुपतिकाे मूल मन्दिरमा स्थापित जलहरीमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहित १३ जना व्यक्तिहरूकाे नाम कुँदिएकाे पाइएकाे छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन संस्कृतिमन्त्री भानुभक्त ढकाल, तत्कालीन पशुपति क्षेत्र विकास काेषका सदस्य-सचिव प्रदीप ढकाल, काेषका काेषाध्यक्ष, पशुपतिका मूल भट्ट, अन्य दुई मूल पूजारीसहित १३ जनाकाे नाम कुँदिएकाे पाइएकाे हाे।

‘केपी ओली, विद्या भण्डारी, भानुभक्त ढकाललगायतले जलहरीमा नाम कुँदेर आफू अमर रहन खाेजेकाे बुझियाे’, जाँचमा संलग्न एक अधिकारीले भने।

उता पशुपति क्षेत्र विकास काेषमा लामाे समयदेखि आबद्ध नराेत्तम वैद्यले धर्मनिरपेक्षता राष्ट्रमा धार्मिक कार्यका लागि राज्य काेषबाट कराेडाैँ रकम खर्च गरिएकाे विषयमा सर्वाेच्च अदालतमा दायर गरेकाे मुद्दामा आगामी असाेज ७ गते पेसी ताेकिएकाे छ।

प्राचीन स्मारक तथा संरक्षण ऐनमा प्राचीन सम्पदालाई अनधिकृत रुपले चलाएर तोडमरोड गरेमा दुई लाखसम्म जरिवाना र दुई वर्षसम्म कैद हुने वा दुवै सजाय हुने व्यवस्था छ। उक्त ऐनअनुसार दायर गरिएकाे रिटमा वैद्यले पशुपतिमा पहिलेदेखि रहेकाे चाँदीकाे जलहरी निकालेर अनावश्यक ताेडमाेड गरी करोडौँ रुपैयाँ खर्च गरेर सुनकाे जलहरी राखेर राज्यकाेषकाे दुरुपयाेगका साथै प्राचीन सम्पदाकाे ताेडमाेड गरिएकाे आराेप लगाइएकाे छ।

आइतबार दिउँसाे मन्दिरका मुल भट्टसहितका मुख्य पूजारीहरूले निकालेकाे जलहरी साेमबार उनीहरूबाटै पुन:स्थापित गरिने स्राेतले जानकारी दिएकाे छ।

लाखाैँ भक्तजनकाे आस्थाकाे केन्द्र पशुपतिनाथ मन्दिरलाई सिलबन्दी गरेर त्यहाँ भएकाे भ्रष्टाचारबारे छानबिन गरिएकाे याे पहिलाे पटक हाे।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *