केही दिन अघि प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमका बीच प्रितम सिंहको नाम लिएदेखि प्रतिपक्षी दल नेकपा एमालेले खरो विरोध जनाइरहेको छ । प्रतिपक्षी दलले ठाडै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग अगाडि सारेर संसद् अवरुद्ध नै गर्यो । गत सोमवार सिख समुदायका व्यवसायी प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचनमा बोल्ने क्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले गरेका प्रयासहरूको चर्चा गरेका थिए । सिंहले एक पटक प्रधानमन्त्री बनाउन धेरै मेहनत गरेको, धेरै पटक दिल्ली गएको र काठमाडौंका धेरै पार्टी नेताहरूसँग पनि लगातार छलफल गरेको कुरा विभिन्न सञ्चारमाध्यममै भिडियो सर्वजनिक भएको छ । ती भिडिओमा राजनीति सफल भए मात्रै देश विकास हुने सिंहको विश्वासको प्रशंसा गर्दै प्रधानमन्त्री प्रचण्डले उनीसँगको निकटताबारे पनि चर्चा गरेको छन् । पूर्वमन्त्री समेत रहेकी माओवादी नेत्री पम्फा भुसालसँग नजिकै घर भएका कारण पनि सिंहसँग लगातार भेट हुने र अन्तरक्रिया भइरहने कुरा सार्वजनिक गरेका थिए । आफ्नो परिवारमा दुःख पर्दा सिंहले धेरै ठूलो सहयोग गरेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले भने, ठूली छोरीलाई क्यान्सर हुँदा ठूलो सहयोग गरेका कारण मेरो परिवार उहाँप्रति नतमस्तक छ भनेर प्रधानमन्त्रीले स्पष्ट भनेकै छन् । यही भनाई पछिल्लो समय संसद् अवरुद्ध हुनेदेखि विरोध र अस्थिरताको कारक बनिरहेको छ । प्रितम सिंहले प्रचण्ड बाहेक अन्य नेपाली कुन कुन नेताहरुसँग साँठगाँठ राख्दछन् भन्ने पनि रहस्यको विषय बनेको छ ।
यहाँ विषय प्रितम सिंहले के गरे वा गरेनन् भन्ने होइन । एक भारतीय नागरिकले नेपाली नेतालाई प्रधानमन्त्री बनाउन दिल्ली र काठमाडौंमा राजनीतिक भेटघाट गरेको विषय गम्भीर हो । प्रितम सिंहले प्रचण्ड र उनको परिवारलाई गरेको सहयोगको पनि ठूलो नहोला तर देशको प्रधानमन्त्री र उनको परिवार त्यसमाथि पनि लामो समय भूमिगत रहेर विद्रोहको नेतृत्व गरेर आएका एक नेताले प्रधानमन्त्री पद सम्हाली रहँदा कुनै भारतीय नागरिकको प्रशंसा गर्नु र उनीप्रति अनुग्रिहित रहेको कुरा चै गम्भीर रुपमा हेर्नुपर्ने विषय नै हो । नेपाल एक सार्वभौम मुलुक हो र यहाँका जनता स्वतन्त्र नागरिक हुन् । यस्तो देशमा प्रधानमन्त्रीले कुनै भारतीय नागरिकसँग अस्वभाविक सम्बन्धको बखान गर्नु निन्दनीय विषय हो नै । सधैं नेपालको सरकार निर्माणमा भारतीय दृष्य अदृष्य हात हुने, भारतीय प्रभावमा नेपाली राजनीति चल्ने भन्ने आरोप र दोषारोपण हुने नेपालमा यस प्रकारको अभिव्यक्ति प्रधानमन्त्रीले दिनु जनताको लागि सह्य विषय कदापि हुनै सक्दैन । यसकारण प्रधानमन्त्रीले संसद्मा उभिएर यसको विषयमा आत्मालोचित हुनुपर्छ, जनतासमक्ष क्षमा पनि माग्नु पर्दछ । दाहालले दिएको विवादास्पद अभिव्यक्तिबारे उनले सार्वभौम संसदमा आएर जनतालाई स्पष्टीकरण दिनुपर्छ । संसद्ले बनाएको प्रधानमन्त्रीलाई संसदले नै कारबाही गर्ने अधिकार राख्छ । दाहालको अभिव्यक्तिले देशको सार्वभौमिकता, अखण्डतालाई असर तुल्याएको छ भने त्यसको कारबाही पनि संसद्ले नै गर्नुपर्छ ।
गम्भीर विषय अर्को के पनि छ भने यसै विषयलाई लिएर प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने अडान राखेर दुवै सदन् अवरुद्ध पार्नु पनि उचित र जायज कदम होइन । प्रधानमन्त्री दोषि हुन् वा होइनन् भन्ने विषय संस्दमै छिनोफानो गर्नुपर्नेमा यसैलाई निहुँ बनाएर जनताको प्रतिनिधिमूलक संस्थानै बन्धक बनाउनु कस्तो शैलीको विरोध हो ? अघिल्लो कार्यकाल देखि नै एमालेले अनेक बहाना बनाएर संसद् अवरुद्ध गर्दै आइरहेको छ । यो विषय पनि सदन अवरुद्ध बनाउने एउटा नयाँ बहानाको रुपमा एमालेले प्रयोग गरिरहेको छ । तत्कालीन अवस्थामा प्रधानमन्त्री पद छोड्नुपर्नेे अवस्था आएपछि एमाले अध्यक्ष केपी ओलीले संसद् दुईदुई पटक भंग गर्ने प्रयास गरे । चलिरहेको संसद्मा बैठक नै बस्न नदिने अवरुद्ध पार्ने एमालेको विशेषता इतिहासमा उदाहरणीय नै बनेको छ । विद्यमान संसद्मा पनि बजेटलाई लिएर संसद्लाई प्रभावित पर्ने काम एमालले गरिनै रह्यो । प्रचण्डकै जस्तो भारतीय उच्च व्यक्तिहरु भेटघाट गरेर विवादमा केपी ओली पनि आएकै थिए । एमालेले संसद् अवरुद्ध गरिरहँदा के कुरा बिर्सेको छ भने अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि भारतीय गुप्तचर प्रमुख गोयललाई मध्यरातमा सरकारी निवासमा भेटेको कुरा विवादास्पद बनेको थियो । सतहमा नदेखिएका र सुनिएका कैयौं अमर्यादित र कुटनीतिक तवरले मान्य नहुने किसिमका भेटघाटका विषयहरु सुनिइरहन्छन् । तर हरेक विषयको विरोध जनतालाई नै बन्धक बनाउने किसिमको हुने नेपाली राजनीतिको प्रवृत्ति बन्दै गएको छ ।