काठमाण्डौँ÷चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले आफ्नो कार्यकालमा नगर क्षेत्र भित्रका वडा वडा, टोल टोल, बस्ती बस्तीको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोकस्थित रक्तेढुङ्गा सम्पदा वस्ती टोल सुधार समितिको आर्थिक वर्ष २०७९–८० को समिक्षा कार्यक्रममा प्रमुख अथिती रहनु भएका मेयर गिरीले भन्नुभयो –“विकास भनेको वडा वडा, बस्ती बस्ती, टोल टोलको विकास हो । यस्तो विकासमा सबै जनप्रतिनिधि लाग्नुपर्छ। सक्रिय हुनुपर्छ ।” उहाँले स्वच्छ वातावरण बनाउन उल्लेखनीय भूमिका खेल्न समितिलाई सुझाव समेत दिनुभयो ।
चन्द्रागिरी नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले टोल र बस्ती विकासका लागि संयुक्त प्रयास हुनुपर्ने बताउनु भयो । चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष हरिश्याम रानामगरले यो टोल सुधार समितिलाई अझ सबल बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो । समितिका अध्यक्ष रमेश गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राजनीतिक पार्टीका प्रतिनिधि, संघसंस्था र स्थानीय समाजसेवीहरुको उल्लेखनीय उपस्थिति रहेको छ ।