काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघमा यसपटक देखिने गरी नेपाललाई प्रस्तुत गरिएको बताएका छन् । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र संघको ७८ औं महासभामा आफूले गरेको सम्बोधनबाट यस पटक नेपाल देखिने गरी प्रस्तुत हुन सफलता मिलेको दाबी गरेका हुन् ।
आफ्नो हालै सम्पन्न संयुक्त राष्ट्र संघको महासभा र चीनको औपचारिक भ्रमणबारे आइतबार प्रतिनिधि सभा बैठकमा जानकारी गराउँदै उनले नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि अन्तर्राष्ट्रिय समुदायको सद्भाव बटुल्न पनि आफ्नो भ्रमण सफल भएको बताए । नेपालमा द्वन्द्वबाट शान्तितर्फ रूपान्तरणको सफल उदाहरणलाई अन्तर्राष्ट्रिय समुदायले उचित मान्यता दिनुपर्ने, दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन तथा जलवायु परिवर्तनका प्रभावहरूबारे नेपाल लगायत अतिकम विकसित मुलुककाहरूका चुनौती र तिनको सम्बोधनका लागि विश्व समुदायको ध्यानाकर्षण गराउने विषयमा पनि आफूले संयुक्त राष्ट्र संघको महासभामा धारणा राखेको प्रधानमन्त्री दाहालको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको राजनीतिक तहमा विश्वासको वातावरण बनेको बताए । उनले नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरूमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भएको बताए ।
प्रधानमन्त्री दाहालले चिनियाँ नेतृत्वसँग आफूले व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ केन्द्रित रहेर छलफल गरेको पनि बताए ।