अग्निहोत्रको संकल्प वातावरण शुद्धिकरणको अभियान

मुख्य समाचार विचार
खवर पाटी (खोज खबरको अभियान)
पुष्पराज गिरी

पुष्पराज गिरी
मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नं ९ स्थित रजैया क्षेत्र भएर बग्ने रापती नदी किनारमा एउटा सुन्दर आश्रम सञ्चालनमा छ । नदी क्षेत्रमा फैलिएको बगरमा सानो खयरको जंगल, विविध प्रकारका वनस्पतिहरुलाई संरक्षण गरेर बनाइएको सानो उद्यान र केही मन्दीरसहित ऊँ श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्र आश्रमका भवनहरुको दृष्यले आगन्तुक र यात्रीहरुको ध्यान सजिलै आकृष्ट गर्दछ । करिव १२ वर्ष अघि वातावरण संरक्षण र शुद्धिकरण अभियानबाट शुरु भइ वि.सं २०६८ सालमा स्थापना भएको आश्रमको भौतिक निर्माण कार्यको शिलशिला अझै जारी छ । तर मुख्य लक्ष्य र उद्देश्यअनुरुप वातावरण संरक्षण र शुद्धिकरणको अभियान अग्निहोत्र शुभारम्भदेखि अहिलेसम्म अखण्ड रुपमा चलिहरको छ । वैदिक यज्ञद्वारा जलवायु शुद्धिकरण, पर्यावरण संरक्षण, वैदिक अध्ययन र वैदिकशास्त्र अनुरुपका यज्ञहरुको आयोजना, सञ्चालन र प्रवद्र्धन लगायतका कार्यक्रमहरुलाई आश्रमले निरन्तरता दिंदै आएको छ । तर आश्रमको मूल लक्ष्य र उद्देश्य भनेको वैदिक यज्ञ ‘अग्निहोत्र’ गर्नु रहेको छ ।

अग्नि

वैदिक साम्य संघीय व्यवस्थाको अवधारणा अनुरुप व्यवस्थित ढंगबाट संचालनमा रहेको अग्निहोत्राश्रम सम्भवतः नेपालकै पहिलो हो । व्यक्तिगत सम्पत्ति नहुनु, वर्गभेद नहुनु, शासन सत्ताको जन्म नहुनु नै मूल रुपमा वैदिक साम्य संघीय व्यवस्थाका अन्तरवस्तु हुन् । यि र यस्तै वैदिककालीन अवधारणा अनुसार अगाडि बढेको अग्निहोत्राश्रमले केही वर्ष अघिसम्म मरुभूमि जस्तो देखिने रजैया स्थित राप्ती नदी किनारलाई उपवनकोे रुपमा विकास गरी वनस्पति उद्यान नै निर्माण गरी सकेको छ । उक्त स्थानमा विभिन्न ५० भन्दा बढी बहुउपयोगी औषधिजन्य वनस्पतिहरुको रोपण गरेर संरक्षण हेतु चौतारा निर्माण गरिएको छ । बाह«वर्ष पछिको त्यस क्षेत्रको मुहार विल्कुलै फेरीएको छ । क्रमिक रुपमा भौतिक निर्माण शुरु गरेर आजसम्म आइपुग्दा केही यज्ञशाला, शिव मन्दीर, भू देवी मन्दीर, अतिथि तथा शयन कक्ष भवन, भोजन गृह र गौशाला निर्माण सम्पन्न भएका छन् । आश्रमले अनौपचारिक रुपमा वैदिक शिक्षा, योग, वनस्पति अध्ययन तथा अध्येताहरुको लागि आश्रममै वस्ने व्यवस्था मिलाएको छ । जुन आश्रमको सवैभन्दा महत्वपूर्ण कार्य हो । पूर्वीय वर्णाश्रम व्यवस्था अनुरुप शिक्षा ग्रहण गर्ने अवसर र आश्रम पद्दति जहाँ गुरुशिष्य प्रयोजन अनुरुप निर्धारण हुन्छ, यस्तो अनुपम उदाहरण अग्निहोत्राश्रममा पाउन सकिन्छ । । सनातन वैदिक धर्म निर्वाहका लागि जीवनमा जन्म देखि मुत्यु पर्यन्त आउने यावत् कर्महरु पूर्ण रुपमा वैदिक विधिद्वारा गरिने भएकाले विभिन्न क्षेत्रबाट वैदिक कार्यका लागि मानिसहरु आउने गरेका छन् । वैदिक शास्त्र अध्ययन, अध्यापन र वनस्पति उपचारका लागि समेत मानिसहरु निरन्तर आइनै रहेका हुन्छन् । वैदिक शास्त्र अध्ययन—अध्यापन, योग शिक्षा, हवन तथा यज्ञ र वनस्पति अध्ययन तथा खोज र संरक्षण अभियानका कारण अग्निहोत्राश्रम यतिबेला आध्यात्मिक केन्द्र मात्र नभएर धार्मिक पर्यटन र वनस्पति संरक्षणको केन्द्र समेत बन्दै गएको छ । अग्निहोत्रको मूल लक्ष्य लिएर शुरु भएको अग्निहोत्राश्रम यतिबेला वैदिक दर्शन अध्ययन, वनस्पति अध्ययन र सामाजिक कार्यहरु सञ्चालनको एउटा वैकल्पिक गन्तव्यको रुपमा समेत विकास भइरहेको छ ।

‘अग्निहोत्र’ एक वैदिक यज्ञ

अग्निहोत्राश्रममा हुने मुख्य कार्य नै अग्निहोत्र हो । अग्निहोत्र एक वैदिक यज्ञ हो । जसको उल्लेख ऋग्वेद एवं धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । अग्निहोत्रको शुरुवात प्राचीन समयमा ऋषिमुनीहरुले भारतवर्षमा गरेका थिए । सनातन हिन्दू संस्कारमा अग्निहोत्र दैनिक नित्य कर्मको रुपमा गरिने प्रचलन थियो । प्राचीन समयमा ऋषिमुनीहरु, ब्रह्मण र आर्यहरुले दैनिकरुपमा सुर्योदय र सुर्यास्तको समयमा अग्निहोत्र गर्दथे । महाभारतमा उल्लेख भएअनुसार द्वापरयुगमा महर्षि वेदव्यासले चार वेदहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको संकलन गरेका थिए । जसमध्ये यजुर्वेद यज्ञ सम्बन्धि विधिहरु संकलन गरिएको वेद हो । यजुर्वेद शब्द यत् र जू को संयोग मिलेर बन्दछ । यत् को अर्थ हुन्छ गतिशील तथा जू को अर्थ हो आकाश । यत् र जू को संयोगबाट वायु, जल, अग्नि पृथ्वी लगायत पञ्चभूतात्मक जगतको सृष्टि भएको हुन्छ । वेदमा अन्य विभिन्न प्रकारका यज्ञहरुको वर्णन गरिएको पाइन्छ । जसमध्ये अग्निहोत्र, दशपूर्णमासो, चातुर्मस्यानी, पशुयांग, सोमयज्ञ गरी पाँच प्रकारका यज्ञलाई मुख्य मानिएको छ । यिनै मुख्य श्रोत यज्ञलाई वेदमा श्रेष्ठ कर्म बताइएको छ । यिनै महत्वपूर्ण श्रोत यज्ञहरुमा अग्निहोत्र एक हो । ‘अग्नये परमेश्वराय जलवायु शुद्धिकरणाय च हवनं होत्रं यस्मिन् अग्निहोत्र’ अर्थात् अग्निरुपी ईश्वरमा हवनद्वारा जलवायु शुद्धिकरण हुने हवन एवं होत्र कार्य अग्निहोत्र हो ।

अग्निहोत्री गुरु डा.सीताराम खनाल

अग्निहोत्रको संकल्प र विधि

अग्निहोत्रको मूल लक्ष्य र संकल्पकै कारण ऊँ श्री वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको स्थापना र सञ्चलन सम्भव भएको हो । अग्निहोत्रको संकल्प कर्ता अग्निहोत्री गुरु डा.सीताराम खनाल हुनुहुन्छ । उहाँको सम्पूर्ण परिचय श्रोत्रीय ब्रह्मनिष्ठ अग्निहोत्री डा.सीताराम खनाल हो । उहाँले ऋग्वेदमा महाविद्यावारिधी हासिल गर्नुभएको छ । उहाँ लामो समयसम्म वैदिक दर्शन अध्यापन, संस्कृत शिक्षा र वनस्पति खोज अनुसन्धानको अभियानमा क्रियाशील रहँदै आउनु भयो । उहाँ वैदिक दर्शनका अध्येता, योगी, अध्यापक, ज्योतिष, वनस्पति विज्ञ एवं कुशल अध्यापक हुनुहन्छ । अग्निहोत्रको महाव्रत संकल्प एक योग्य अग्निहोत्री बाट सञ्चालन गर्नुपर्ने वैदिक विधान छ । वेदका ६ अङ्ग शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष तथा पद र क्रम सहित वेद अध्ययन पुरा गरेर कठिन आचरण पालना गरेको कारण वैदिक विधान सम्वत् उहाँ विद्यमान समयमा अग्निहोत्र यज्ञ गर्न सक्षम र योग्य अग्निहोत्री हुनुहुन्छ । उहाँकै दृढ संकल्प, लक्ष्य, प्रवद्र्धन अनुरुप नित्य अग्निहोत्र यज्ञ भइरहेको छ । उहाँकै संरक्षकत्वमा आश्रमका सम्पूर्णं गतिविधि संचालन भइरहेको छ । यसका साथै वनस्पति खोज, अन्वेषण, संरक्षण र रोपण लगायत वातावरण शुद्धिकरणको अभियान पनि निरन्तर जारी नै छ ।

अग्निहोत्राश्रममा अग्निहोत्र यज्ञको लागि वैदिक विधि अनुसारको आवश्यक पर्ने पाँच वटा यज्ञशाला निर्माण गरिएका छन् । दैनिक रुपमा विहानको सुर्योदय र बेलुकाको सुर्यास्तको समयमा यज्ञशालामा अग्निको आह्वान गरिन्छ । अग्निहोत्रमा अग्निका पाँच विभिन्न स्वरुपको आह्वान हुन्छ । आवसथ्य, आह्वानीय, दाक्षिणनि, अन्वाह्र्य र गाहर््पत्य यि अग्निहोत्रको पाँच अग्निहरु हुन् । अग्निहोत्र यज्ञ कर्तालाई अग्निहोत्री भनिन्छ । अग्निहोत्रको महाव्रतबाट पाँच अग्निको आह्वानसहित अग्निहोत्र गरिन्छ । अग्निहोत्रीद्वारा यज्ञशालामा अग्निको आह्वान भएपछि गाईको दुध र वनस्पतीको हवन गरिन्छ । हवनमा पलास, पिपल, वर, वेल, समी, खयर, डुम्री, खमारी, मयल, सिप्लिकान आदि वनस्पतीको उचित प्रयोग हुन्छ । यसरी हवन गर्दा प्रातकालमा दुई र सन्ध्याकालमा दुई आहुती अर्पण गरिने विधान छ । जुनकुनै परिस्थितिमा पनि अग्निहोत्र यज्ञ रोक्न मिल्दैन । यस्तै दैनिक हवनसँगै अग्निहोत्रका पूर्ण अंगहरु मानिने अन्य विशेष यज्ञको अनुष्ठानहरु पुरा गर्नुपर्ने विधि विधान रहेको छ । जसअनुसार अहिलेसम्म रुद्र याग, वनस्पति याग र इन्द्र यागहरु पूर्ण भइसकेका छन् । सम्पूर्ण यागहरु कूल २६ वटा हुन्छन् । जसलाई अग्निहोत्रका अंगहरु पनि भनिन्छ ।

अग्निहोत्रको महत्व र आवश्यकता

अग्निहोत्र यज्ञ पूर्ण रुपमा वैदिक विज्ञान र वातावरणसँग सम्बन्धित रहेको छ । जल, अग्नि, वायु, आकाश र पृथ्वी तत्वको शुद्धिकरणको लक्ष्यमा नै अग्निहोत्रको कर्म निहित रहेको हुन्छ । त्यसैले अग्निहोत्र वैदिक यज्ञ, धर्म र मोक्ष साधनको कर्म मात्र नभएर जलवायु शुद्धिकरणको महान् कार्य पनि हो । अग्निहोत्री गुरु भन्नुहुन्छ— अग्निहोत्रमा गरिएको हविलाई अग्निले अन्तरिक्षमा पु¥याउँछ । अन्तरिक्षमा अग्नि, वायु र सूर्यको भेट हुन्छ । जसबाट मेघ बन्दछ । मेघबाट बादल, बादलबाट पानी बन्दछ र सोही पानी धर्तीसँग मिल्दा अन्न बन्दछ र अन्नबाट मानव तथा सम्पूर्ण जीवको शरीर बनेको हुन्छ । सोही प्रक्रियाबाट बनेको अन्न शरिरले ग्रहण गर्दछ । अन्नको तीन परिणाम हुन्छ । जसको स्थुलबाट दिसा, माध्ययबाट मांसवृद्धि र सुक्ष्मबाट मन बन्दछ ।’ त्यसैले सवै मानव जगतले मनलाई स्वस्थ राख्नु पर्दछ । मन स्वस्थ भए सुक्ष्म शरीर स्वस्थ हुन्छ, सुक्ष्म शरीर स्वस्थ रहे स्थुल शरीर स्वस्थ हुन्छ । जवसम्म मन अस्वस्थ हुन्छ तबसम्म मानिसहरुमा झगडा, अन्याय, अत्याचार, भ्रष्टाचार, माहामारी, भय, सन्त्रासादि एवं शङ्कादि प्रवृत्ति उत्पन्न भइरहन्छ । यही अवस्थाको न्युनीकरण गर्न अग्निहोत्र आवश्यक छ ।
अग्निहोत्र यज्ञको महत्वका बारेमा वैदिक दर्शन एवं धर्मशास्त्रहरुमा पनि विशेष रुपमा उल्लेख गरिएकोे पाइन्छ । तैत्तिरीयमामा उल्लेख छ ‘जसको ज्ञानपूर्वक हवन गरिन्छ र जसको ध्यान गरिन्छ, दुवै देवता मध्ये कसैको परित्याग नगरी अष्ठवसु, एकादश रुद्र, द्वादस आदित्य मध्ये यजमानका हवन अवश्य हुन्छ, अग्निहोत्र सवै देवतालाई पुग्छ । स्वयं पनि यजमान प्रजा (सन्तति) र पशुधनबाट तृप्त हुन्छ, स्वर्गलोकका ज्ञान प्राप्त हुन्छ, सन्तान दरसन्तानको सुख पाउँछ ।’ शतपथ ब्राह्मणमा ‘अग्निहोत्र निश्चित् नै स्वर्गको सुखको प्राप्ति गरौने डुंगा हो ।’ भनिएको छ । गोपथब्राम्हणमा ‘जो पुरुष अग्निहोत्र यज्ञ गर्दछ ऊ देवताको पनि प्रिय बन्दछ ।’ भनिएको छ । यसैगरी नारायणेपनिषद्मा उल्लेख छ ‘सन्ध्याकाल र प्रातकाल पूर्ण विधिबाट गरिएको अग्निहोत्र इष्ट पूजित गर्ने घरका सद्गृहका प्रायश्चित् हो । गृहमा हुने सम्पूर्ण कर्महरुको पाप मुक्तिको उपाय हो । सोमरहित यज्ञ तथा सोमयुक्त अग्निहोत्र स्वर्गलोकको ज्योति अर्थात् मार्ग प्रदर्शक हो । वायुपुराणमा ‘जो द्विजाति (ब्राम्हण, क्षत्रिय र वैश्य) दश र पौर्णमास यज्ञ गर्दछ ऊ ब्रम्हलोकगामी हुन्छ । ब्रम्हलोकबाट कहिले पनि उसको पुनरावृत्ति हुँदैन ।’ भनिएको छ । यसैगरी पद्य्मपुराणमा ‘सागर सरी सारा पृथ्वी दान गरे बराबर जुन पुण्य मिल्दछ, यस्तै पुण्य अग्निहोत्र यज्ञ बाट प्राप्त हुन्छ । पद्य्मपुराण, सृष्टिखण्डमा ‘यस संसारमा अग्निहोत्र भन्दा ठूलो कुनै पवित्र कर्म छैन । अतः विधिपूर्वक अग्निहोत्र यज्ञ गरेर द्विज पवित्र हुन्छन् ।’ भनिएको छ । हारोतमा उल्लेख छ ‘अग्निहोत्र भन्दा ठूलो कुनै धर्म छैन । अग्निहोत्र भन्दा ठुलो कुनै तप छैन । अग्निहोत्र भन्दा ठुलो कुनै श्रेय छैन । अग्निहोत्र भन्दा ठुलो कुनै यस, सिद्धि छैन । अग्निहोत्र भन्दा ठुलो कुनै गति छैन, कुनै जप, स्नान छैन ।’ महाभारत शान्तिपर्वमा अग्निहोत्रको महत्वबारेमा यसरी उल्लेख गरिएको छ ‘समस्त वेद तीन ( दाक्षिण, गार्हपत्य र आह्वानीय) अग्निमा निवास गर्दछन् । अतः अग्निहोत्रीलाई धर्मात्मा वा श्रेष्ठकर्म गर्नेवाला सम्झनु पर्दछ । जसको कर्म कहिल्यै नष्ट हुँदैन, उ अग्निहोत्री कहलाउँछ । अग्निहोत्री बनेर धर्म क्रिया वा कर्म नगर्नु भन्दा अग्निहोत्र न गर्नु श्रेष्ठ हुन्छ । अग्निहोत्रीले अग्निहोत्रको अग्निको, माताको, उत्पन्न गर्ने पिता र गुरुको सेवा नम्रतापूर्वक गर्नु पर्दछ ।’

वैदिककालिन समयदेखि भारतवर्षमा शुरुभएको अग्निहोत्र समयक्रमसँगै उल्लेखनीय रुपमा भइरहेको पाइँदैन । वेद र धर्मशास्त्रहरुमा उल्लेख भएअनुसार पनि सवै यज्ञ कर्म समृद्धिको आधार हो । धर्मशास्त्रहरुले मार्ग निर्देशन गरेको र विज्ञानसम्वत् पनि रहेको अग्निहोत्र वातावरण र समाजलाई नै सत्मार्ग र पवित्रता तर्फ अग्रसर गराउने यज्ञ कर्म भएकाले यसको महत्व ठूलो छ । आजको विश्व जलवायु परिवर्तनले आक्रान्तबन्दै गइरहेको छ । तामपानमा क्रमश वृद्धि भएका कारण हिमालय पग्लिंदो छ, कतै जलाशय सुक्दैछन्, कतै अतिवृष्टि त कतै अनावृष्टिको प्रकोप देखिन्छ । वायुमण्डल प्रदुषित भइरहेको छ । सामाजमा विकृति, विसंगति, भ्रष्टाचार, अन्याय व्याप्त बनिरहेको छ । धर्म नै प्रताडित र तिरस्कृत हुँदै गएको अवस्था छ । समग्र परिस्थितिले यतिबेला मानव र जीवजन्तु समेत प्रभावित बनिरहेको देखिन्छ । यस्तो परिस्थितिमा पर्यावरण शुद्धिकरण गर्नुको कुनै विकल्प छैन । वातावरण र मानव उत्थानको लागि वेद र शास्त्रहरुलेसमेत मार्गदर्शन गरेको अग्निहोत्र यज्ञ सर्वत्र हुनुपर्दछ । अग्निहोत्र समग्र मानव, जीव र पर्यावरणसँग सम्बन्धित रहेको छ । जल, जमिन, वायु, आकाससँग सम्बन्धित भएकाले मानवका लागि अग्निहोत्रको महत्व ज्यादै ठूलो छ । यो समग्र पर्यावरणीय चक्रलाई शुद्धिकरण गर्ने अभियानको रुपमा सञ्चालन भइरहेको छ । अग्निहोत्र यज्ञको महत्व र आवश्यकता जलवायु शुद्धिकरण र मानवको स्वस्थ जीवनसँग समबन्धित रहेको छ । यसैले पनि वातावरण शुद्धिकरण अभियान अग्निहोत्राश्रमको यस अभियानरुपी कार्य समग्र मानव जीवनको लागि ज्यादै महत्वपूर्ण सावित हुनसक्छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *