बराल, श्रेष्ठ र शर्माको जुगलबन्दीमा तैयार भयो मृत्युकोशको शिर्ष गीत

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

काठमाण्डौ – चलचित्र मृत्युकोशको लागी “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” बोलको शिर्ष गीतको रेकर्ड सम्पन्न भएको छ । अमेरिकाको आरएल साउण्ड एण्ड लाईट्स् स्टुडियो, बालटीमोरमा उक्त गीतको रेकर्ड भएको चलचित्रको निर्माता कमला जोशीले बताएकी छिन् । उक्त गीतलाई बिशिष्ठ गीतकार प्रा।डा। कृष्णहरि बरालले लेखेका हुन् भने चर्चित संगीतकार सन्तोष श्रेष्ठले संगीत गरेका हुन् । गायक रुद्र शेखर शर्माले उक्त गीतका लागी स्वर दिएका हुन् ।

विभिन्न भाषा तथा जनराका गीतहरुमा आफ्नो आवाज दिंदै आएका गायक रुद्र शेखर शर्माले नेपाली चलचित्रको लागी भने पहिलो पटक आवाज दिएका हुन् । प्रा।डा। कृष्णहरि बराल र संगीतकार सन्तोष श्रेष्ठ जस्ता दिग्गज सर्जक तथा श्रष्ठाहरुसंग काम गर्न पाउँदा गायक शर्मा निक्कै खुशी देखिएका छन् ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भैरहेको उक्त चलचित्रमा माधब राज खरेलको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा तेज गिरी, गीता अधिकारी, प्रवण भुषाल, लिगेश भट्टराई, शान्तिप्रिय, राजन थापा, राजेन्द्र पाण्डे, दिपक थापा, नम्रता खरेल, सुमिरा गिरी, सपना जोशी, राजन खरेल, जनक सिंह, डा। राजिव यादव, सौरीका खरेल, राधिका खरेल लगायतको अभिनय देख्न सकिने छ ।

काठमाण्डौ ललितपुर र नुवाकोटका विभिन्न स्थानहरुमा पहिलो चरणको छायाँकन गरिएको थियो । चलचित्रलाई मुकेश हुँमागाइले खिचेका छन् भने उनलाई छायाँकार राजन खरेलले साथ दिएका छन् । उक्त चलचित्रमा बिक्रम गौतमको मेकअप रहेको छ । चलचित्रको दोश्रो चरणको छायाँकन भने भाद्र महिनाको दोश्रो साताबाट गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रको शिर्ष गीत “बेवारिशे हुनु पर्ने लासै हुँदा पनि” गीतको संगीत संयोजन संगीतकार राजेन्द्र बजगाई गरेका हुन् भने अर्को डि आर राईद्धारा रचित र सन्तोष श्रेष्ठको संगीत रहेको “भुल भुलैया” बोलको गीतको संगीत संयोजन भने शाहास शाक्यले गरेका छन् ।

एक जना मानिसले आफ्नो जिवनको उत्तराद्र्धमा आएर भोग्नु परेको समस्याहरुलाई चलचित्रमा उठान खोजिएको छ । नेपाली परिवेशमा पछिल्लो समय यूवाहरुको प्रवास पलायनको प्रमुख मारमा बृद्धबृद्धाहरु पर्ने गरेका छन् । यसै विषय बस्तु भित्र रहेर एउटा शसक्त सामाजिक सचेतनाको लागि पनि यो चलचित्रको निर्माण भएको निर्देशक खरेलले बताए ।

ईरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र निर्देशक खरेलकै निर्देशन तथा लेखनमा बनेकोे चलचित्र चिट्ठी पनि प्रदर्शनको तैयारीमा रहेको जानकारी निर्माण पक्षले दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *