राजनीतिले फिल्मी क्षेत्रलाई पनि प्रभाव पारेको देखिन्छ : धनराम केसी ‘मुस्कान’

मनोरञ्जन
खवर पाटी (खोज खबरको अभियान)

धनराम केसी ‘मुस्कान’
युवा नेता तथा कलाकार, राप्रपा

धनराम केसी ‘मुस्कान’ चलचित्र र राजनीति क्षेत्रमा चिरपरिचित नाम हो । ललितपुर जिल्ला महालक्ष्मी नगरापलिका वडा नं. ४ इमाडोल उछुका स्थानीय बासिन्दा मुस्कान बुबा स्वर्गीय भैरब बहादुर केसी र माता स्वर्गीय मखन केसीको कान्छो छोरा हुनुहुन्छ । उहाँ राजनीति र चलचित्रका अलावा लोक गायनमा पनि चर्चित र सफल हुनुहुन्छ । उहाँले करिब एक दर्शन एल्वम निकाली सक्नु भएको छ । गत निर्वाचनमा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट ललितपुर क्षेत्र नं. २ (क) प्रदेश सदस्यमा उम्मेदवार रहनु भएको थियो । उहाँ जनता बीच लोकप्रिय रहेकाले त्यस क्षेत्रमा जित्न नसके पनि राम्रै मत आएको थियो । इमान्दार मिलनसार र स्वच्छ छविका मुस्कान ललितपुरमा चर्चित हुनुहुन्छ । उहाँ नेपाल चलचित्र कलाकार संघको पूर्व केन्द्रीय सदस्य र राष्ट्रिय संगितकर्मी संघ, ललितपुरको संस्थापक अध्यक्ष हुनुहुन्छ । राजनीतिमा राप्रपालाई बेस बनाएर अघि बढ्नु भएका राप्रपाका युवा नेता तथा कलाकार धनराम केसी मुस्कानसँग गरिएको कुराकानी ः

यतिबेला चलचित्र क्षेत्रको अवस्था कस्तो छ ?
नढाटी भन्नु पर्दा चलचित्र क्षेत्रको वर्तमान अवस्था नाजुक छ । दर्शक भनेको हामीले भगवान मान्नु पर्छ । ठुला चलचित्र, टेलि–चलचित्रका दर्शक घट्दै गएको मैले महसुस गरेको छु । हामीले दर्शकलाई मन पर्ने फिल्म बनायौ भने दर्शकहरुको संख्या दिनदिनै थपिदै जानेछ । वास्तवमा राजनीतिले गर्दा समाजका अन्य क्षेत्र जस्तै फिल्मी क्षेत्रलाई पनि प्रभाव पारेको अवस्था छ । फिल्महरु राम्रो बन्न थाले पछि दर्शकहरु चलिचित्र प्रति आकर्षित भइरहेको अवस्था छ ।

फिल्मी क्षेत्र सुधार्न के गर्नु पर्ला ?
फिल्मी क्षेत्र सुधार्न अनुभवी कलाकार देखि दक्ष प्राविधिकसम्म चाहिन्छ । फिल्म राम्रो बन्न निर्देशकको प्रमुख भूमिका रहन्छ । अब हामी आफै सव्रिmय भएर राम्रो फिल्म बनाउने बेला आएको छ । दर्शकलाई राम्रो मनोरञ्जन दिन मैले पनि टेलिफिल्म बनाइरहेको छु ।

तपाईको चलिरहेको टेलिचलचित्र बारे भन्नुस न ?
यतीवेला मेरो प्रस्तुती र गमला सुवेदीको निर्माणमा ‘हिसाब किताब’ टेलि–चलचित्र मायालु प्रोडक्सन युटुब च्यानल मार्फत हरेक सोमबार वेलुका ७ बजे दर्शकले हेरिरहनु भएको छ । यो टेलिचलचित्रको लेखक तथा निर्देशक गोविन्द दुलाल र बिशाल केसीको रहनु भएको छ । यस टेलि चलचित्रको प्रमुख भूमिकामा मैले अभिनय गरिरहेको छु । यस टेलिचलचित्रको अन्य कलाकारहरुमा गोविन्द दुलाल, मनराम केसी, जिवन थापा, चन्दा विडारी, सुष्मा सिलवाल बस्नेत, रघुनाथ खड्का, पार्वती पन्त, विना खड्का, विशाल केसी, सन्तोषराज दुलाल, करुणा बमजन, रितु गौतम, रत्न तामाङ, विशाल सुनुवार, पवित्रा भण्डारी लगायत रहनु भएको छ । यो टेलिचलचित्रको छायांकन तथा सम्पादन विशाल केसीको रहेको छ भने व्यवस्थापक सन्तोषराज दुलाल हुनुहुन्छ । यो टेलिचलचित्रका अलावा हिस्स बुढी खिस्स दाँत, ख्याल ठट्टा र जदौमा पनि मैले राम्रो भूमिकामा अभिनय गरिसकेको छु ।

टेलिचलचित्रको अवस्था कस्तो छ, दर्शकले कति मनपराई रहेका छन् ?
टेलिचलचित्रको अवस्था पहिले जस्तो छैन । पहिला एउटा दुईटा टेलिभिजनबाट दुई चार वटा टेलिचलचित्र प्रसारण हुन्थे । जुन प्रसारण हुन्थे ती हिट हुन्थे । अहिलेको अवस्था भनेको टेलिभिजन धेरै, युटुव र टिकटकका कारणले अत्याधिक कलाकारहरु उत्पादन भएँ । त्यस कारणले पहिलेका कलाकारलाई जस्तो हुने इज्जत अहिलेका कलाकारहरुको छैन ।

‘हिसाब किताब’ कस्तो टेलिचलचित्र हो ?
‘हिसाब किताब’ अहिलेको देशको समसामयिक विषय वस्तु समेटेर बनेको छ । अहिले काठमाण्डौमा रहेका विषयवस्तु र गाउँमा रहेका विषयवस्तु यस टेलिचलचित्रमा उठान गरिएको छ । यो टेलिचलचित्रलाई दर्शकले राम्रो मनपराइ दिएकाले हामीलाई अझ अघि बढ्न सहयोग मिलिरहेको छ ।

मुलुकको राजनीतिलाई चाहि कसरी निहाल्नु भएको छ ?
हाम्रो देशमा कुनै पनि क्षेत्रमा सुशासन छैन । जताजतै भ्रष्टाचार मौलाएको छ । युवाहरु जति विदेश पलायन हुनु परेको छ । विकास निर्माणका काम ठप्प छन् । सरकारको नीति राम्रो नभएकाले ठेक्का लागेका विकास निर्माणका कामहरु समयमै सम्पन्न नभई ठेकेदारहरु भागेको अवस्था छ । आज जनता झन झन गरिब भइरहेका छन् । आज भन्यो भोली भन्यो देश झनझन गरिब भइरहेको छ । देशभर अराजकता छ । राजनीतिक दलका नेता मात्र मोटाई रहेको अवस्था छ । राजनीतिबाट जनतालाई वितृष्णा उत्पन्न हुँदै गएको देखिन्छ । ‘राजा नभएपछि देश यस्तै हुन्छ’ भनेर जनता आवाज उठाइरहेका छन् । अहिलेको मुलुकको निकास भनेको अभिभावकीय राजतन्त्र नै हो ।

मुलुकभर फैलिरहेको भ्रष्टाचार बारे के भन्नु हुन्छ ?
भ्रष्टाचार त गाउँ गाउँदेखि केन्द्रसम्म नै फैलिरहेको छ । अब हरेक किसिमका भ्रष्टाचार अन्त नगर्ने हो भने सर्वसाधारणले ठुलो दुःख पाउने अवस्था छ । किन भने भ्रष्टाचार मै ठुला दलका नेताहरु संलग्न छन् । भ्रष्टाचारमा संलग्न हुने अनि विभिन्न प्रपञ्च गरेर नेताहरुले सफाई पाइरहेको अवस्था छ । सिधा साधा फस्ने, राजनीतिक पहुचवालाले भ्रष्टाचारमा उन्मुक्ति पाउने अवस्था कति दिन रहला ?

राजतन्त्र र हिन्दु राज्य पूनस्थापनाका लागि कसरी अघि बढिरहनु भएको छ ?
राजतन्त्र स्थापना गर्न धार्मिक सभा, कोण सभा र आम सभा गरि जनतालाई जागृत गरिहेका छौं । राप्रपाका मुख्य एजेण्डा भनेको अभिभावकीय भूमिकामा राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सनातन सद्भावपूर्ण हिन्दु राष्ट्र स्थापना र प्रदेश खारेजी नै हो । यि एजेण्डा पुरा गर्न राप्रपा आफ्नो शक्ति लगाइ रहेको छ । जनतालाई घरदैलोमै पुगेर आफ्ना एजेण्डा बुझाइ रहेको छ । जब सबै जनताले बुझ्छन् त्यो दिन हाम्रो एजेण्डा स्थापित हुनेछ ।

के नेपालमा अब राजसंस्था पूनस्थापित होला ?
त्यसो त हजारौ राजा पालेर बस्न भन्दा अभिभावकको रुपमा राजसंख्था चाहिदो रहेर भनेर जनताबाट आवाज उठ्न थालेको छ । उठिरहेको छु । राजाविना देश चल्न सक्दैन भन्ने आम जन आवाज सहि हो । एक दिन जनता नै उठेर राजतन्त्र बहाली गर्ने छन भन्ने हामीलाई लागेको छ । ठिला चाडो नेपालमा राजसंस्था पूनस्थापित हुनेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *