बेदप्रसाद भुर्तेल
वर्तमान नेपालमा विचार विहिन हुलहरू देश बनाउँछु भनेर हिँडिरहेको बेलामा समाजमै संघर्ष गरेर, ठक्कर खाएर सामाजिक आर्थिक नैतिक रुपमा सत्य नै भएर अगाडि बढ्दा राम्रोसँग देश विदेश समाज बुझेका युवा पुस्ता यतिबेला बिभिन्न कारणले विदेशी भुमिमा श्रमदान गर्न बाध्य बनिरहेको अवस्थामा सहि नेतृत्वको हातमा देशको बागडोर पुग्ने हो भने देशको परिवर्तन सम्भव छ ।
आधा पेट खाएर नेपालको बैंकहरू र सहकारीमा जनताले राखेको पैसाको राज्यले ग्यारेन्टी लिनुका साथै स्थानीय समुदाय ग्यारेन्टी बसेर आवश्यकपर्दा बचतकर्ताले आफ्नो पैसा सहज रुपमा प्राप्तिको ब्यवस्था मिलाउन जरुरी भएको छ । बिकासका योजनाहरु बनाउँदा सम्बन्धि बिषयका बिज्ञ र वैज्ञानिकहरुको राय, परामर्श नलिकन काम गर्दा आर्थिक दुरुपयोग चरम रुपमा भैरहेको छ भने निर्माणका क्षेत्रहरु अलपत्र बन्दा राज्यले ठूलै मूल्य चुकाउनु परिरहेको अवस्था छ । यो पार्टी र त्यो पार्टीको रटान दिरहनु भन्दा देश विकासको सवालमा एकजुट भएर लाग्नुको बिकल्प छैन ।
शहरमूखि र परनिर्भताले गर्दा शहर बाक्लिदै जाँदो छ भने गाउँघर सुनसान बन्दैछ । आफ्नो उब्जाउ भूमि बाँझो राखेर अरुको भरमा चुलो सल्काउने संस्कारले भाबि सन्ततिको भविश्य कस्तो होला अनुमान लगाउन गाह्रो छैन । हरियो बन नेपालको धन नारामा मात्र सिमित छ । राज्यको ठोस नीति नियम बलियो नहुँदा घर बनाउँदा भारत, मलेसिया देखि काठ ल्याउनु बाध्य नेपालीहरु आर्थिक रुपले पनि मारमा परिरहेको छ भने काठको त कुरै छाडौं लताकपडा र खाद्यवस्तु, स्वास्थ्य सामग्री लगायतका मानव जीवनमा अतिआवश्यक वस्तुहरुको देशमा उत्पादन नहुनुले जनता चौतर्फी मारमा पर्ने गरेकोले देशभित्र बन्द रहेका कलकारखाना मर्मत सम्भार गरि सुचारु गर्ने तर्फ राज्यको ध्यान जान जरुरी छ ।
पूर्व पश्चिम राजमार्गमा रहेका भृकुटी कागज कारखाना, बुटवल चिनि कारखाना, हेटौडा औद्योगिक क्षेत्र भित्र रहेको शान्ति वनस्थपति घ्यु लगायतका कारखानाहरुको दर्दनाक अवस्था देख्दा कुन चाही सच्चा नेपाल आमाका सन्तानको आँखाबाट आँशु नझर्ला । देशभित्र रहेका बन्द कलकारखाना सञ्चालनमा ल्याउन सकेमात्र पनि युवा शक्तिलाई विदेशीनुबाट रोक्न सकिन्छ । राजनीतिक पाटीको आफ्ना नातागोता र कार्यकर्ता पोष्ने नीतिले देश उभो लाग्दैन, दलहरु बेलैमा सच्चिएर देश र जनताको हितमा काम गर्न आवश्यक छ ।
कृषि प्रधान देश भनेर हामी थाक्दैनौ । भारतले एक हप्ता नाकाबन्दी गर्यो भने भोकभोकै बस्नु पर्छ । समयमै मल, बिउबिजनको ब्यवस्था गर्ने र बिचौलियाको अन्त्य गरि वास्तबिक किसानले उत्पादन गरेको तरकारी जन्यवस्तुलाई बजारसम्म पुग्न राज्यले सहजीकरणको वातावरण मिलाईदिने हो भने पनि उपभोक्ताबाट उठेको पैसा सिधै किसानको खल्तिमा जाने छ । जसले गर्दा कृषिमा आवध्द हजारौ व्यक्तिको अनुहारमा मुश्कान छाउनेछ । देशलाई आर्थिक रुपले प्रत्यक्ष असर पुराउने संघीयता, धर्मनिरपे्रक्षता, जातीय कोटा जस्ता प्रणाली सम्पूर्ण बन्द नगरिएसम्म संम्रिध्द नेपाल, सुखि नेपाली नारा नारामात्र सिमित रहने छ ।
लेखकः चलचित्र निर्देशक हुन् ।