निकै दुर्लभ पूर्ण वलय सुर्यग्रहण अर्थात ‘रिङ अफ फायर’ असार ७ गते

खवर पाटी (खोज खबरको अभियान)

असार ७ गते आइतबार वलय सुर्यग्रहण लाग्दैछ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार सुर्यग्रहण वलय भए पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

सो दिन काठमाडौंमा सूर्यग्रहण १० बजेर ५३ मिनेटमा सुरू हुनेछ भने  दिउँसो २ बजेर २४ मिनेटमा सकिनेछ। काठमाडौंबाट देखिने सुर्यग्रहणमा चन्द्रमाले ८५ प्रतिशतले ढाक्ने सोसाइटीले जनाएको छ।  त्यस्तै सबैभन्दा बढी चन्द्रमाले सूर्यलाई ढाकेको देखिने धनगढीबाट हो। त्यहाँ देखिने चन्द्रमाले ९१ प्रतिशतले सूर्यलाई ढाक्नेछ।

‘नेपालमा वलय देखिन सन् २०६४ फेब्रुअरी १७ सम्म कुर्नुपर्ने हुन्छ। जुन प्रदेश-१को दक्षिणपूर्वी भागबाट देखिन्छ,’ सोसाइटीका अध्यक्ष सुरेश भट्टाराईले भने,’यसअघि नेपालमा सन् १९६५को नोभेम्बर २३ तारिख बिहान देखिएको थियो।’

उनका अनुसार पूर्ण वलय सुर्यग्रहणलाई ‘रिङ अफ फायर’ भन्ने गरिएको छ। जसलाई निकै दुर्लभ मानिन्छ।

यो ग्रहणलाई नाङ्गो आँखाले नहेर्न भट्टराईले आग्रह गरेका छन्।

‘हामीले यसलाई नाङ्गो आँखाबाट हेर्नु हुन्न। सुरक्षित तरिका अपनाउनु पर्ने हुन्छ,’ उनले भने,’सूर्यग्रहण हर्ने विषेश खालको चस्मा हुन्छ, टेलिस्कोप, बाइनाकुलरबाट पनि फिल्टर राखेर हेर्नुपर्छ।’

टेलिस्कोप तथा बाइनाकुलरबाट हेर्दा पनि ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

‘टेलिस्कोपबाट हेर्दा पनि फिल्टरलाई ध्यानपूर्वक मिलाएर राख्नु पर्ने हुन्छ। नजानेर फिल्टर आँखापट्टि राखियो भने आँखामा असर पर्छ,’ उनले भने।

सूर्यग्रहण घरेलु तरिकाले पनि हेर्न सक्ने उनले बताएका छन्।

‘सबैसँग टेलिस्कोप, बाइनाकुलर, चस्मा नहुन पनि सक्छ,’ भट्टराईले भने,’त्यसको लागि विषेश उपाय भनेको ‘पिन होल क्यामेरा मेथड’ भन्ने तरिकाले हेर्दा पनि हुन्छ।’

छाँया पारेर हेर्ने विधिलाई पिन होल क्यामेरा मेथड भनिन्छ।

‘एक कागजमा कलमले सानो प्वाल पार्नुस् र त्यो कागजलाई सूर्यतिर फर्काएर त्यहाँबाट निस्किएको प्रकाश कुनै भित्तामा पार्नुभयो भने छाँयाबाट सूर्यग्रहण देखिन सक्छ,’ उनले भने।

सोसाइटीले आइतबार देखिने सूर्यग्रहण हेर्न देशका विभिन्न स्थानमा रहेका कार्यालयमा व्यवस्था मिलाइसकेको थियो। तर कोरोनाभाइरसको महामारीका कारण त्यसलाई रोकिएको सोसाइटीले जनाएको छ।

त्यसको सट्टामा सोसाइटीले आफ्नो युट्युब च्यानल http://youtube.com/NASONepal मार्फत प्रत्यक्ष प्रसारणको तयारी गरिरहेको जानकारी भट्टराईले जानकारी दिए।

कहाँबाट कति बेला देखिनेछ सूर्यग्रहण?

 

Facebook Comments Box