नेपाल क्रिकेट: दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी शतकमा नेपालको जित

खेलकुद
खवर पाटी (खोज खबरको अभियान)

टी-२० त्रिकोणात्मक शृङ्खलाको समूह चरणको अन्तिम खेलमा दीपेन्द्र सिंह ऐरीको शानदार शतकको मद्दतमा नेपालले मलेसियालाई ८५ रनले पराजित गरेको छ।

टस हारेर पहिलो ब्याटिङ पाएको नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाएर २२३ रनको ठूलो स्कोर खडा गर्‍यो।

जवाफमा मलेसियाले १९.५ ओभरमा सबै विकेटको क्षतिमा १३८ रन मात्र बनाउन सक्यो।

यो नतिजासँगै मलेसिया शृङ्खलाबाट बाहिरिएको छ।

अब फाइनल खेल आगामी सोमवार नेपाल र पपुवा न्युगिनीबीच हुने तालिका छ।

ऐरीको सफलता

२० औँ ओभरको तीन छक्काले कीर्तिपुर मैदानमा उल्लासको बेग्लै वातावरण बन्यो।

क्रिजमा जमिरहेका दीपेन्द्र सिंह ऐरी शतकको नजिक थिए तर धेरै बल बाँकी थिएन।

यस्तोमा ९० रन बनाएर खेलिरहेका दीपेन्द्रले ओभरको पहिलो बलमा २ रन जोडे। दोस्रो बलमा ‘डट’ खाए।

अनि त्यसपछि चल्यो उनको ब्याटिङ जादु।

तेस्रो बलमा छक्का ९८ रन, चौथो बलमा छक्का १०४ रन र पाँचौँ बलमा छक्का ११० रन।

कीर्तिपुर रङ्गशालामा उपस्थित हजारौँ दर्शकहरूले उनको यो जादूमयी प्रदर्शनमा खुसी मनाएका थिए।

दोस्रो छक्कासँगै उनले शतकमय पारी पूरा गरेका थिए। काठमाण्डूमा भएको एक दिवसीय र टी २० दुबैमा उनी शानदार स्थितिमा देखिए।

उनको नाममा थुप्रै कीर्तिमान बन्यो।

ऐरीले पपुवा न्युगिनीविरुद्ध भएको एक दिवसीयमा करिअरको पहिलो शतक प्रहार गरेका थिए।

एकदिवसीयमा शतक प्रहार गर्ने उनी पारस खड्का र रोहित पौडेलपछि तेस्रो नेपाली खेलाडी बनेका थिए। पौडेलले एक दिन अगाडि मात्र शतक बनाएका थिए।

उनी अब एक दिवसीय र टी-२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बनेका छन्।

सअघि पूर्व कप्तान पारस खड्काले दुवै फर्म्याटमा शतक प्रहार गरेका थिए ।

त्यस्तै उनी टी २० आईमा सर्वाधिक रन (११०) रन बनाउने नेपाली खेलाडी पनि बने।

यसअघि पारस खड्काले सन् २०१९ मा सिंगापुर विरुद्ध १०६ रन तथा ज्ञानेन्द्र मल्लले १३ औँ दक्षिण एसियाली खेलकुदमा भुटानविरुद्ध १०७ रन बनाएका थिए।

शनिवार ऐरीले शतक बनाउने क्रममा ५७ बल खेल्दै १० चौका र ६ वटा छक्का प्रहार गरेका हुन्।

रनको वर्षा

नेपाली ब्याटरहरूले शनिवार कीर्तिपुर मैदानमा रनको वर्षा नै गरे।

प्रारम्भिक ब्याटिङ जोडी कुशल भुर्तेल र आशिफ शेख भने जम्न सकेनन्।

शेखले १८ र भुर्तेलले १२ रन मात्र बनाए अनि आरिफ शेख २ रनमा आउट भए।

त्यसपछि रोहित पौडेल र ऐरीको जोडीले धूम मच्चाए।

पौडेलले पनि पहिलो टी-२० अन्तर्राष्ट्रियमा अर्ध शतक प्रहार गरे। उनले ३४ बल खेल्दै ५ चौका मद्दतमा ५१ रन बनाए ।

यी दुईले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे।

पौडेल आउट भएपछि ऐरीलाई आदिल अन्सारीले साथ दिएका थिए। अन्सारीले १४ रन बनाए।

खेलको अन्तिम बलमा रन आउट हुनुअघि अन्सारीले ऐरीसँग मिलेर ५९ रनको साझेदारी गरेका थिए।

बलिङमा मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १-१ विकेट लिए ।

नेपालले आज तीव्र गतिका बलर सोमपाल कामीलाई विश्राम दिँदै उनको स्थानमा कमलसिंह ऐरीलाई मौका दिएको थियो।

Source BBC News Nepali

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *