ललितपुर । सामाजिक अभियन्ता बिनयजंग बस्नेत यतिबेला वडाध्यक्षका स्वतन्त्र उम्मेदवार हुन् । स्थानीय निर्वाचनमा ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ७ मा स्वतन्त्र उम्मेदवारी दिएर स्थानीय जनतासँग आफ्नो चुनाव चिन्ह धारामा मतदान गर्न उनी र उनीको समर्थन गरिरहेका स्थानीय जनताको समुहनै घरदैलो र प्रचार अभियानमा सक्रिय रहेका छन् ।
आइतबार बिनयको पक्षमा मतदान गर्न सामाजिक अभियन्ताहरुको समुहनै स्थानीय गोपालचोकमा कोण सभाको समेत आयोजना गर्न लागिएको छ । ‘स्थानीय तहमा राजनैतिक दलको कार्यकर्ता हैन, स्वतन्त्र, निष्पक्ष र समाजमा समर्पित ब्यक्ति नै योग्य र उपयुक्त हुन्छ’ भन्ने मुल उद्देश्य राखेर बिनयजंग बस्नेत लगायत थुप्रै स्वतन्त्र उम्मेदवारहरु देशका विभिन्न स्थानीय निकायमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएका छन् ।
बिगत लामो समयदेखि दुर्ब्यसन र सामाजिक दुर्व्यवहार बिरुद्ध सशक्त आवाज उठाउँदै आएका छन् समाजसेवी बस्नेतले । पछिल्लो समय ‘जहाँ बेवारिसे लास त्यहाँ बिनय’ भन्ने कुरा जिल्ला प्रशासन, पुलिस प्रशासन देखि सामाजिक क्षेत्रमा काम गर्ने संघसंस्थामा स्थापित नै भैसकेको छ। लागू औषधको प्रयोग तथा अन्य कारणबाट मान्छेहरु घरपरिवार बाट अलग भएर सडकमा आइपुग्ने र उचित बसोबास, खानपिन र औषधोपचार नपाएर बेवारिसे बन्न पुग्ने अनि तिनै ब्यक्तिहरुको मृत्यु हुँदा बेवारिसे लास अस्पतालमा सडेगलेको अवस्थामा रहन्छन्।
त्यस्ता सडेगलेका लासहरुले पनि मानवीय ब्यवहार र ससम्मान उचित सदगद सहित दागबत्ती पाउनुपर्छ भन्ने मान्यता राख्ने बिनयले पछिल्लो ७ बर्षमा ५ सय ७० भन्दा बढी बेवारिसे लासहरुको ब्यवस्थापन गरिसकेका छन्। कोरोना महामारी बाट सिर्जित लकडाउनको समयमा विभिन्न कारणले घरपरिवारसँग अलग भएर सडकमा आइपुगेका बेसहारा तथा बेवारिसे हरुलाई सडकमै पुगेर तातो भात बितरण गरेका बिनयले त्यससँगै सडकमा भेटिएका असहाय बिरामी हरुको पनि उपचारमा सहयोग गर्दै आएका छ्न।
पछिल्लो समयमा देखिएको राजनीतिक व्यथिति, विकास निर्माण, स्वास्थ्य, शिक्षा लगायतका थुर्पै समस्याहरु स्थानीय क्षेत्रमा देखा परेपछि त्यसको समाधानमा खरो रुपमा आवाज उठाएका कारण स्थानीय क्षेत्रबाट बिनय पो वडाअध्यक्ष बन्नु प¥यो भन्ने अनुरोध आउन थाल्यो । राजनीतिक दलहरुले विभिन्न वहानामा पैसा र पद र पारिवारिक सम्बन्धका आधारमा उम्मेदवार चयन गराउने व्यथिति विरुद्ध उभिएको युवा समुह पनि बैकल्पिक शक्तिको निर्माणको अभियानमा जुटेको अवस्थामा महालक्ष्मी नगरपालिका ७ नं स्थानीयमा उचित पात्र बिनयको नाम सवैको विकल्पमा आएपछि बिनयले यसको नेतृत्व लिन स्वतन्त्र उम्मेदवारी दिएका हुन् । निर्वाचनको मिति नजिकिंदै गर्दा बिनयजंग बस्नेतको पक्षमा चाँगाथली क्षेत्रमा राम्रो जनमत बढ्दै गएको देखिएको छ । जनताका सेवक अब जनताका प्रतिनिधिको रुपमा उभिएका बस्नेतले सवैको मत जितिरहेको स्थानीय बताउँछन् ।