काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि घट्ने भएको छ । यातायात व्यवस्था विभागले आइतबार सार्वजनिक सवारी साधनको नयाँ भाडादर सार्वजनिक गर्ने भएको हो । विभागका महानिर्देशक नमराज घिमिरेले भाडादर आज सार्वजनिक गरिने जानकारी दिए।
महानिर्देशक घिमिरेले कार्यालय समय खुल्नेवित्तिकै अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने बताए। उनले काठमाडौं उपत्यकाको भाडादर समायोजनको जिम्मा भने प्रदेश यातायात कार्यालयको रहेको बताए ।
यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो।
सरकारले हिजो पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ। सरकारले घटाएको मूल्य गएराति १२ बजेदेखि लागू भएको छ।