संसद् अधिवेशनले पर्याप्त काम गर्न सकेन, दोष कसको ?

सम्पादकीय
खवर पाटी (खोज खबरको अभियान)

संघीय संसदको चालु अधिवेशन अन्त्य हुँदैछ । संसद् अधिवेशन अन्त्यतिर पुगिसकेको अवस्थासम्म यो चालु अधिवेशन खासै प्रभावशील बन्न सकेन । नौ महिनाअघि पुस २५ गते सुरु भएको प्रतिनिधिसभाको दोस्रो अधिवेशन अन्त्यतिर पुगिसक्दा यो अधिवेशनले अहिलेसम्म एउटा मात्र विधेयक पारिति गर्न सक्यो । २०८० साल वैशाख २४ गतेदेखि सुरु भएको संघीय संसदको दोस्रो अधिवेशनले हालसम्म मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० मात्रै पारित गरेको थियो । प्रतिनिधिसभाको आगामी बैठक असोज १४ गते र राष्ट्रियसभाको आगामी बैठक असोज १२ गते बोलाइएको छ । नेपालीहरूको महत्वपूर्ण पर्व दशैं तथा तिहार नजिकिँदै गरेको अवस्थामा चाडपर्वअघि नै संसदको चालु अधिवेशन अन्त्य हुनेछ । चालु अधिवेशनको ५५ वटा बैठक बसिसक्दा पनि एउटा बाहेक विधेयक पारित हुन नसकेको संसदले अब केही दिनमात्रै चल्ने चालु अधिवेशनमा अन्य कुनैपनि विधेयक पारित हुने अवस्था देखिँदैन । संघीय संसदमा हाल १७ वटा विधेयकहरू विचाराधीन अवस्थामा छन् । प्रतिनिधिसभाको समितिमा १२ वटा विधेयक रहेकोका केही दिन अघि दुईवटा विधेयक दर्ता भएको र राष्ट्रियसभामा ३ वटा विधेयकहरू रहेको संसद् सचिवालयले उल्लेख गरेको छ । संसद तथा समितिमा विचाराधिन अवस्थामा रहेका विधेयकहरुमाथि पर्याप्त छलफल हुन नसक्ने र विवादित विषयहरुमा समेत बीचमा सहमति जुट्न नसक्दा विधेयक पारित बिना नै अधिवेशन अन्त्य हुने अवस्था देखिएको छ ।

प्रतिनिधिसभाको चालु अधिवेशनमा ५५ वटा बैठक बसेको छ । यस अधिवेशनमा ७ वटा बैठक अवरुद्ध भएको र ८ वटा बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । प्रतिनिधिसभामा अनुगमन तथा मूल्यांकन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, र सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक२०७९, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७७ र भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७७, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०, नेपाल विश्वविद्यालय विधेयक २०८०, विद्यालय शिक्षा विधेयक २०८०, विद्युत विधेयक २०८० विचाराधीन अवस्थामा रहेका छन् । यस्तै राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८०, राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ र अध्यागमन विधेयक २०७६ विचाराधीन अवस्थामा रहेका छन् । गत पुस १० गते पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएपछि पुस २५ मा प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो । संघीय संसद्ले पहिलो अधिवेशनले कुनै पनि कानुन बनाउन सकेन । वैशाख २४ गते सुरु भएको दोस्रो अधिवेशनले एउटा मात्र कानुन पारित गरेको छ । दुईवटा अधिवेशनमा गरेर प्रतिनिधिसभातर्फ ६३ र राष्ट्रियसभातर्फ ५९ बैठक बसेका छन् । तर, अधिकांश बैठक विधेयकबाहेकका विषयमा केन्द्रित भएको देखियो । विधेयक पारित गर्नकै लागि भनेर दोस्रो अधिवेशन लम्ब्याइयो । तर न नयाँ विधेयक अगाडि बढ्ने सम्भावना पनि देखिंदैन, समितिमा रहेका विधेयकमा सहमति जुट्ने अवस्था पनि देखिंदैन ।
संसदमा उपस्थित दलहरु संसद्को एजेन्डालाई भन्दा शीर्ष नेताहरुको व्यक्तिगत टकरावलाई प्राथमिकता दिइरहेको स्पष्ट देखिन्छ । प्रमुख प्रतिपक्षी एमालेले कहिले पशुपतिको जलहरी, कहिले सुनकाण्ड त कहिले ललिता निवास जग्गा प्रकरणलाई लिएर सदन अवरुद्ध बनायो । जिनतिन सहमति बनेर सदन सञ्चालन भएका पनि पनि शून्य र विशेष समयमा बोलेर सांसदहरुले समय कटाउनु पर्ने अवस्थाहरु पनि चालु अधिवेशन धेरै देखिए । संसद् जनताको प्रतिनिधिमुलक संस्था नभएर राजनीतिक दलहरुको केन्द्रीय समितिको बैठक जस्तो आरोप प्रत्यारोप र अवारोधका राजनीतिक अभ्यासमा रुमलिन पुग्यो । कतिपय संसदका दलहरु नै बाहिर आएर संसदीय अभ्यास नै देशका लागि ठीक भएन भनेर पनि भाषण गर्ने गर्दछन् । विभिन्न ढंगबाट संसदीय अभ्यास देशकै लागि ठीक होइन भन्ने सावित गराउन संसदलाई प्रभावहीन बनाउने र असंसदीय गतिविधिहरु सञ्चालन गर्ने राजनीतिक दलहरुको क्रियाकलापबाट देखिन्छ । राजनीतिक दलहरु नै संसदलाई प्रभावहीन बनाउन लागिपर्ने दुखद अवस्थाको परिणाम यो हिउँदे अधिवेशनले भोगेको छ ।

संसदीय समितिहरुमा रहेका विधेयकहरुलाई अगाडी बढाउने सन्दर्भमा सम्बन्धित मन्त्रालय हेर्ने मन्त्री, समिति सभापति र समिति सदस्यहरूको प्रमुख भुमिका रहन्छ । तर चालु अधिवेशनको अन्त्य अवस्थासम्म आइपुग्दा केवल एउटा विधेयक मात्र पारित हुनुले संस्द सदस्यहरुका र सरकारका मन्त्रीहरुको निष्कृयता स्पष्ट देखाउँछ । संसद्का बैठकहरु कहिले एजेन्डाविहीन भएर बैठक नै नबस्ने त कहिले शून्य र विशेष समयमा बोलेर बैठक सक्ने परिस्थितिहरु संसद्मा देखा परे । यसको मुख्य कारक भनेको सरकार र प्रतिपक्षी दलहरु नै हो । संसद् र दलहरूको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रूपमा रहेको संघीय संसदको दोस्रो अधिवेशन एकमात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामो पुग्यो । सत्ता पक्ष र प्रतिपक्षी दल एक–अर्कालाई दोष दिएर जिम्मेवारीबाट पन्छिन खोजिरहेका छन् । तर जनताको सार्वभौम अधिकार पाएको ऐन कानुन निर्माण गर्नुपर्ने, देशको शासन व्यवस्थालाई सञ्चालन गर्ने विधि विधान बनाउने थलो नै दलीय खिचातानीको कारण अनिर्णयको बन्दी बन्नु दुर्भाग्यपूर्ण अवस्था हो । संसद् केवल राजनीति गर्ने थलो बनाएर दलहरुले जनतको मन भावना र निर्वाचनमा मतदान बाट दिएको जिम्मेवारीको अवमुल्यन गरिरहेका छन् । संसद् दलीय घेराबन्दी र अनिर्णयको अवस्थामा पु¥याएर संसदीय परिपाटी र व्यवस्था नै कमजोर र कामनलाग्ने सावित गर्ने कृयाकलाप बन्द गरिनु पर्दछ । संसद र संसदीय व्यवस्था जनताको उत्तरदायि संस्था हो र सांसदहरु जनताको जिम्मेवारी पुरा गर्न संसद्मा आएका हुन् भन्ने विर्सनु हुँदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *