युएईलाई हराउँदै एसीसी यू-१९ प्रिमियर कपको उपाधि नेपाललाई

खेलकुद मुख्य समाचार
खवर पाटी (खोज खबरको अभियान)

काठमाडौं- एसीसी यू-१९ प्रिमियर कपको उपाधि नेपालले जितेको छ। मंगलबार भएको फाइनलमा  युएईलाई १९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो। वर्षाले प्रभावित खेलमा युएइलाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको थियो। तर युएई २६.५ ओभरमा अलआउट हुँदै १ सय ७८ रनमा समेटियो।

फाइनलमा  नेपालले युएईलाई २ सय ८१ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। तर ११.२ ओभरमा २ विकेट गुमाएर ५० रन बनाउँदा वर्षाले खेल रोकिएपछि युएईले २७ ओभरमा १ सय ९८ रनको नयाँ लक्ष्य पाएको थियो। उक्त लक्ष्य पछ्याएको युएई अन्तिम बल बाँकी हुँदा अलआउट भयो।

युएईका लागि धुर्व परासरले ५९ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक आयान अफ्जाल खानले ३० रन बनाउँदा आर्यन्स शर्माले ३२ रन बनाएका थिए। त्यस्तै यइन किरन राईले १७ रन बनाउँदा एथन डसौउजाले १३ रन बनाएका थिए।नेपालका लागि आकाश त्रिपाठीले ४ विकेट लिंदा शुवास भण्डारीले ३ तथा आकाश चन्दले २ विकेट लिए। हेमन्त धामीको नाममा १ विकेट रह्यो। प्रतियोगितामा पहिलो पटक दिपेश कँडेल विकेट विहीन रहे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान देव खनालले शतकीय इनिङ खेलेका थिए। खनालले कप्तानी इनिङ खेल्दा नेपाले उच्च स्कोर तयार गर्‍यो। उनको यो यू-१९ क्रिकेटमा तेस्रो शतक हो। उनी तेस्रो शतक बनाउने पहिलो नेपाली खेलाडी समेत बने।

खनालले ९२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १०० रन बनाए। त्यस्तै अर्जुन कुमाल र उतम थापाले पनि अर्धशतकीय इनिङ खेले। कुमालले ७८ बलमा ५५ रन बनाउँदा थापाले ६७ बलमा ५७ रन बनाएका थिए। त्यस्तै दिपक प्रसाद डुम्रेले २८ रन बनाउँदा दिपेश कँडेल १० रनमा अविजित रहे।

यसअघि नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा पुगेका थिए। नेपालले गत फागनुमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *