नुवाकोट । अर्थमन्त्री प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि संघीय सरकारले तीन करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् ।
नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’को अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारले तीन करोडभन्दा माथि र प्रदेश सरकारले एक करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए ।
उनले राज्य पुनःसंरचनापछि अधिकार सम्पन्न तीन तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए । योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा तीन तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीव्र गतिमा रहेको उनको भनाइ छ ।
“संघीय, प्रदेस र स्थानीयतहले कुन–कुन योजनालाई सम्बोधन गर्ने भन्नेमा समन्वयन गरेर योजना कार्यान्वयनमा लागि रहेका छौँ,” उनले भने, “नुवाकोटसहित प्रत्येक जिल्लामा सम्बन्धित क्षेत्रको प्रतिनिधिसँगको समन्वयनमा तर्जुमा गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा तीन तहको सरकार प्रतिबद्ध छ ।”