गम्भिर चुनौती बन्दैछ जलवायु परिवर्तन

विचार
खवर पाटी (खोज खबरको अभियान)

शशिकुमार गिरी

नेपालमा हरेक वर्ष निरन्तर रुपमा तापक्रम बढ्दै गइरहेको छ । तापक्रमा घटबढ हुनु मौसम परिवर्तनको स्वभाविक रुपमा लिन सकिन्छ । तर नेपालमा हरेक वर्ष अधिकतम तापमानमा बृद्धि भइरहनु भने अस्वभाविक र चिन्ताजनक विषय बनेको छ । गर्मी मौसममा नेपालका अधिकांश जिल्लाहरुको तापक्रम अधिकतम ४० डिग्री भन्दा माथि पुग्ने गरेको तथ्यांकले देखाउँछ । सबैभन्दा कम अधिकतम तापक्रम मापन गरिने हिमाली जिल्लाहरुमा पनि वार्षिक तथ्यांकहरुका अनुसार अधिकतम तापक्रममा क्रमकि वृद्धि भइरहेको देखिन्छ । गत वर्षको अप्रिलमा पनि विभिन्न स्थानको तापक्रम ३८.१ देखि ३८.६ डिग्रीसम्म पुगेको थियो । हालसम्मको तथ्यांकमा सबैभन्दा बढी तापक्रम धनगढीमा रेकर्ड भएको छ । सन् १९९५ को जुन १६ मा धनगढीको अत्तरीया स्टेसनमा ४६.४ डिग्री तापक्रम मापन गरिएको थियो । ४५ डिग्री धेरैपटक नाघेकोे छ । सन् १९९५ अगस्ट २ मा नवलपरासीको सेमरी स्टेसनमा ४५.८ डिग्री मापन भएको थियो । त्यसैगरी सन् १९९५ को मे ३ मा भैरहवा एयरपोर्टमा ४५.२ पुगेको थियो । नेपालगन्ज सन् १९९५ को जुन १६ मा ४५.० डिग्री देखिएको थियो । सन् १९६६ को जुन ८ मा चिसापानी कर्णालीमा ४५ डिग्री पुगेको थियो । टीकापुरमा सन् २०१२ को जुन १३ मा ४५ डिग्री र सन् २०१२ कै मे २८ मा दीपायलमा ४५ डिग्री पुगेको थियो । अन्य धेरै वर्षहरूमा अत्यधिक तापक्रम देखिएका थिए । काठमाडौंको हकमा अहिलेसम्मको सबैभन्दा धेरै तापक्रम ३६.६ डिग्री मापन भएको छ । सन् १९८९ को मे ७ मा । त्यसपछि सन् १९९९ को अप्रिल २६ मा ३५.६ डिग्री र सन् २००० पछि २०१५ को जुन ६ मा ३४.६ डिग्री र २०१६ को जुन ६ मा ३६ डिग्री मापन भएको छ । लगातार तीन दिन उस्तै गर्मी भएमा त्यसलाई हिटवेभ भनिन्छ । हिटवेभ हुनका लागि थ्रेसहोल्ड कट्नुपर्छ । प्रत्येक स्टेसनका फरक–फरक थ्रेसहोल्ड हुन्छन् (हट डे, भेरी हट र एस्ट्रिम हट डे) गर्मी, धेरै गर्मी र अत्यन्त गर्मीमा वर्गीकरण गरिन्छ । पछिल्ला वर्षहरुमा नेपालका धेरै भू–भागमा तापक्रमले ‘थे्रसहोल्ड’ अत्याधिक बढेर ‘हिटवेभ’ को अवस्थामा पुग्ने गरेको छ ।

यसरी देशका विभिन भूभागहरुमा क्रमश अधिकतम तापक्रममा वृद्धि भइरहेको पाउन सकिन्छ । नेपालमा निरन्तर तापमानमा वृद्धिभइरहेको उहादहरले प्रष्ट पार्दछ । केवल गर्मी सिजनको गर्मी भनेर मात्र यो अवस्थालाई नजरअन्दाज गर्नु भविष्यको लागि गम्भीर गल्ती पनि हुनसक्छ । विश्वमा बढ्दै गएको तापमान वृद्धि र जलवायु परिवर्तनको गम्भीर असर नेपालमा केही वर्ष यतादेखि देखिंदै आएको छ । केवल तापमानमा वृद्धिमात्र नभएर अतिवृटि, अनावृष्टि, हिमालयमा हिंउ पग्लीदै गएको छ भने, बाढी पहिरो जस्ता प्रक्रोप पनि समस्या बन्दै गइरहेको छ । केही अध्ययनहरुमा उल्लेख भएअनुसार जलवायु परिवर्तनले डढेलो, चर्को गर्मी र अचानक बाढी पहिरोको समस्या देखा परेको छ । त्यस्तै करिब ४७ वटा हिमताल विस्फोटको जोखिममा परिसकेको बताइन्छ । जलवायु परिवर्तनले पु¥याइरहेको असरले संसारभरि मौसम प्रणाली खलबलिएको र तिनले यस्तै अतिवृष्टि, खडेरी, व्यापक डढेलो, हिमताल विस्फोटन जस्ता अप्रत्यासित विपदहरूको संख्या र स्तर बढाइदिने वैज्ञानिकहरूले बताइरहेका छन् । हिमाली क्षेत्रमा हिमताल विस्फोट हुने जसले तलतिर बाढी अनि पहिरो निम्त्याउने, पहिरोले खोला थुन्ने अनि तल्लो तटमा झन् ठूलो बाढी र डुबान ल्याउने जस्ता घटनाबारे उनीहरूले सजग गराइरहेका छन् । नेपालमा करिव ०.०५६ डिग्री सेल्सीअस तापक्रम वृद्धि भइरहेको बताइन्छ । यो अङ्क नेपालको औसत वार्षिक तापमान वृद्धि भइरहेको सुचक हो । जल तथा मौसम विज्ञान विभागले सन् २०१७ मा निकालेको निचोडले नेपालमा वार्षिक अधिकतम तापक्रमको वृद्धिदर औसतमा ०.०५६ डिग्री रहेको देखाएको थियो । मध्यम कालमा सन् २०१६ देखि सन् २०४५ सम्म औसत तापक्रम ०.९ देखि १.१ डिग्रीले बढ्ने र दीर्घकालमा भने सन् २०३६ देखि २०६५ सम्ममा औसत तापक्रम १.३ देखि २.८ डिग्रीले बढ्ने पनि उक्त दस्तावेजमा उल्लेख छ । अन्तर्राष्ट्रिय जगतले तापक्रमको औसत वृद्धिलाई औद्योगिक कालभन्दा पहिलेको तुलनामा डेढ डिग्री सेल्सीअसमा सीमित गर्ने भनिरहेको छ । तर यसका दुईवटा पाटा छन् । एक त उक्त लक्ष्यलाई भेट्न आवश्यक हरितगृह ग्याँस उत्सर्जनको कटौतीमा अपेक्षित तदारुकता देखिँदैन भने अर्को यो लक्ष्य भेटिइहाले पनि यसको प्रभाव अन्यत्रभन्दा नेपालजस्तो हिमाली देशमा धेरै पर्ने देखिन्छ ।

जलवायु परिवर्तनको गति तिव्र देखिएको छ भने यसलाई न्युनिकरण गर्ने गति शुस्त देखिएको छ । अधिक कार्वन उत्सर्जन गर्ने विश्वका शक्ति राष्ट्रहरु यसको कारक हुन् । तर नेपालजस्तो कमजोर र सानो मुलुकहरुले यसको न्यूनिकरणमा खासै ठूलो भूमिका निर्वाह गर्न सक्दैनन् । तर यसको असर यस्तै नेपाल र नेपालजस्ता साना देशहरु प्रत्यक्ष परिरहेको छ । हेर्दा वा सुन्दा थोरै जस्तो लागे पनि यो स्तरको तापमान परिवर्तनका कारण अहिले नै ठूलाठूला असर पर्न थालिसकेको केही विज्ञहरूको भनाई छ । नेपालको हकमा यसले वर्षाको प्रवृत्तिमा व्यापक फेरबदल, हिमताल विस्फोटन, अनपेक्षित विपद् लगायतका असर पर्ने जसले गर्दा खाद्य उत्पादन, जलस्रोत व्यवस्थापन तथा जनजीविकामा प्रभाव पर्दछ । तापक्रम वृद्धिले औसत वर्षाको परिमाण मध्यम कालमा दुईदेखि छ प्रतिशत अनि दीर्घकालमा आठदेखि १२ प्रतिशतले बढ्ने सरकारी एवं अन्तर्राष्ट्रिय संस्थाहरुको एक अध्ययनले समेत देखाएको छ । विश्वव्यापी जलवायु सम्झौता प्यारिस अग्रीमेन्टबमोजिम सबै देशले तापक्रम वृद्धिलाई नियन्त्रण गरेर डेढ डिग्रीमा सीमित गर्दा पनि त्यसको असर हिमाली क्षेत्रमा डरलाग्दो पर्ने जलवायु परिवर्तनका जानकारहरुको भनाइ छ । विज्ञहरुको भनाई अनुसार अहिले नै विश्व तापक्रम १.१ डिग्रीले बढिसकेको छ । त्यसलाई १.५ डिग्रीमा सीमित पार्दा पनि हाम्रो हिमाली क्षेत्रको एकतिहाइ हिउँ पग्लिने देखाएको छ । यसको अर्थ विश्वका ठूला देशले प्रतिवद्धता व्यक्त गरेबमोजिम नै तापक्रम वृद्धिको गति घटाउन सके पनि हिमाली देशहरूका निम्ति त्यो प्रयास अप्रयाप्त देखिन्छ ।

नेपालले विश्वव्यापी तापक्रम वृद्धि रोक्ने दिशामा हरितगृह ग्याँस उत्सर्जन कटौती गर्ने शून्य कार्बन उत्सर्जनको लक्ष्य सन् २०५० सम्म भेट्ने संयुक्त राष्ट्रसंघमा बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ । तर उत्सर्जनका वास्तविक अगुवा देशहरू नै अग्रसर नभएसम्म यसले सार्थक परिणाम ल्याउन सक्दैन । मौसममा आउने उथलपुथलले विगतमा जलवायु परिवर्तनका असरबाट बच्न अपनाइएका अनुकूल उपायहरू अब पर्याप्त नहुने र गरिब अनि न्यून कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकमा आइपर्ने ठूल्ठूला हानिनोक्सानीको कतैबाट लेखाजोखा र क्षतिपूर्ति हुनुपर्ने आवाज उठिरहेका छन् । विगत कैयन वर्षदेखि विकासोन्मुख देशहरूले अनुकूलन तथा क्षति न्यूनीकरणलाई जलवायु परिवर्तनसँग जुझ्ने प्रमुख नीतिगत औजार बनाइरहेका छन् । तर अब यस्तो प्रयासमात्र समस्या समाधानमा अपुग देखिएको छ । नेपालजस्ता देशले कार्बन उत्सर्जन गर्ने ठूला शक्ति राष्ट्रहरुलाई कार्बन उत्सर्जन घटाउन घच्घच्याउनका साथै ठूलो स्तरका हानिनोक्सानीका विषय पनि गम्भीरताका साथ उठाउनु पर्ने अवस्था आइसकेको छ ।
लेखकः अधिवक्ता एवं वातावरण संरक्षण अभियन्ता हुन्

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *