कुर्थादेखि बिजलपुरासम्म रेल्वेको सफल परीक्षण

अर्थ समाचार
खवर पाटी (खोज खबरको अभियान)

जनकपुरधाम – जनकपुरधामको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म रेल्वे लिकको सफल परीक्षण गरिएको छ। बिहीवार दोस्रो चरणको कामअन्तर्गत १७ किलोमिटरमा रेल्वेको सफल परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्र साहले जानकारी दिए।

भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म तीन चरणमा रेल्वे खण्डको निर्माण कार्य हुँदै छ। सोहीअन्तर्गत पहिलो चरणमा जयनगरदेखि कुर्थासम्म रेल्वे खण्ड निर्माणपश्चात् रेल्वे सञ्चालनमा आइसकेको छ। दोस्रो चरणअन्तर्गतको काम पनि सम्पन्न हुने अवस्थामा पुगिसकेपछि लिकको परीक्षण गरिएको हो।
इन्जिनियर साहले हाल जयनगरदेखि कुर्थासम्म सञ्चालनमा रहेको रेलबाट लिकको परीक्षण गरिएको बताए।

रेल्वेले ट्राइलको रुपमा लिकमा दुई पटक गुडेको हो। पहिलो पटक कुर्थाबाट बिजलपुरा जाँदा ३० देखि ४० को स्पिडमा गएको थियो भने आउने बेलामा रेलको गति ७० सम्म पुर्‍याइएको थियो । पुनः कुर्थाबाट १०० को गतिमा गएको र सोही गतिमा रेल्वे फर्केका इन्जिनियर साहले बताए । लिक निर्माण तथा स्टेसनको भवन निर्माणको काम सकिएपनि भवनमा प्लम्बिंग, वाइरिंग लगायतको काम भने बाँकी छ।

इन्जिनियर साहले भौतिक निर्माणको जिम्मा भारतीय कम्पनीको रहेकोले कम्पनीले यसको जिम्मा नेपाल रेल्वेलाई दिएपछि रेल्वे सञ्चालनमा आउने बताए।भारत सरकारको आर्थिक सहयोगमा तीन चरणमा लिक तथा भवन निर्माण भइरहेको छ। जसअन्तर्गत पहिलो चरणमा जयनगरदेखि कुर्था, दोस्रो चरणमा कुर्थादेखि बिजलपुरा र तेस्रो चरणमा बिजलपुरादेखि बर्दिबाससम्म लिक निर्माणको काम भइरहेको छ।

रेल्वे भने नेपाल सरकारले आफै खरिद गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएपछि २०७८ चैत २० गते नेपालका प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा रेलको शुभारम्भ गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *